फ्री भिसा फ्री टिकेट नीति 'गलत अवधारणा', सरकारले पुनरावलोकन गर्ने : मन्त्री यादव
फ्री भिसा फ्री टिकेट नीति 'गलत अवधारणा', सरकारले पुनरावलोकन गर्ने : मन्त्री यादव
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगारीमा लागू रहेको फ्री भिसा, फ्री टिकेटको नीतिलाई सरकारले पुनर्विचार गर्ने जनाएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी छलफलको जवाफ दिने क्रममा मन्त्री यादवले यो नीति परिवर्तन गर्न कार्यदल गठन भइसकेको बताए । "फ्री भिसा फ्री टिकट भन्ने शब्द नै गलत हो, त्यतिबेला त्यसरी नै लागू गरिएको थियो तर यो गलत अवधारणा हो । यसलाई सुधार गर्न जेठ २२ गते कार्यदल गठन गरी ३५ दिनको समयसीमा दिएको छु, सोही अवधिभित्र कार्यदलले प्रतिवेदन बुझाउनुपर्नेछ," उनले भने ।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले फ्री भिसा, फ्री टिकेटको नाममा म्यानपावर व्यवसायीहरूले श्रमिकहरूबाट मनपरी पैसा असुल्दै दिनहुँ ठगिरहेको अवस्थामा सरकारले के कदम चालिरहेको छ भन्ने जिज्ञासा राखेका थिए ।
मन्त्री यादवले झन्डै १८ सय म्यानपावर व्यवसायीहरूको धारणा समेटेर फ्री भिसा, फ्री टिकेटसम्बन्धी सबैले मान्य हुने एकीकृत नीति तर्जुमा गरिने जानकारी पनि दिए । हाल वैदेशिक रोजगारीमा फ्री भिसा, फ्री टिकेटको व्यवस्था लागू रहेको छ ।
