अमेरिकी कम्पनी इनोभेन्चर्स एआईको 'स्प्रिङबेस एआई' नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक
अमेरिकी कम्पनी इनोभेन्चर्स एआईको 'स्प्रिङबेस एआई' नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक
काठमाडौँ, । संयुक्त राज्य अमेरिकाको डेलावेयरमा प्रधान कार्यालय रहेको इनोभेन्चर्स एआई इन्क.ले आफ्नो पूर्ण एआई अपरेटिङ सिस्टम 'स्प्रिङबेस एआई' नेपालमा आधिकारिक रूपमा उपलब्ध गराएको छ। विश्वभरका प्रोफेसनल र संस्थाहरूले हाल प्रयोग गर्दै आएको यो प्लेटफर्म अब नेपालका नयाँ पुस्ताका प्रतिभा, व्यवसाय र संस्थाहरूका लागि पनि सहज पहुँचयोग्य भएको छ। अवधारणादेखि कार्यान्वयनसम्म र लक्ष्यदेखि नतिजासम्मको यात्रा सहज बनाउने उद्देश्यका साथ तयार पारिएको यस प्लेटफर्मले कम्पनीको ज्ञान भण्डार र बैठकका तथ्याङ्कलाई रिपोर्ट, परियोजना विवरण, प्रस्ताव, ड्यासबोर्ड लगायत पुनः प्रयोगयोग्य व्यवस्थित कार्यप्रवाहमा रूपान्तरण गर्न सक्षम बनाउने दाबी गरिएको छ ।
व्यावसायिक संस्थाहरू दिनप्रतिदिन बढ्दै गइरहेका एआई उपकरणका चुनौतीसँग जुधिरहेका भन्दै सन्दर्भ बुझ्न, काम योजना बनाउन र विभिन्न उपकरणबीच समन्वय गरी टोलीले वास्तविक रूपमा प्रयोग गर्न सक्ने नतिजा दिने एकीकृत समाधानको अभाव रहेको स्प्रिङबेस एआईका सह-संस्थापक भरत गोल्छाले बताए। "व्यावसायिक कम्पनीहरू दिनप्रतिदिन बढ्दै गइरहेका एआई उपकरणका चुनौतीसँग जुधिरहेका छन्। उनीहरूलाई सन्दर्भ बुझ्ने, काम योजना बनाउने र विभिन्न उपकरणबीच समन्वय गरी वास्तविक नतिजा दिने एकीकृत समाधानको अभाव छ। हामीले नेपालमा यही प्रविधि ल्याएका हौँ," उनले भने। उनले थप गर्दै उत्पादकत्वप्रति गम्भीर रहेका व्यक्ति, टोली र संस्थाका लागि स्प्रिङबेस एआईले एआईसँग काम गर्ने नयाँ तरिका प्रदान गर्ने दाबी गरे।
कम्पनीका अनुसार यो प्लेटफर्मले एआई-सहायता प्राप्त कार्यहरूका लागि व्यवस्थित कार्यप्रवाह प्रदान गर्दछ। प्रयोगकर्ताले आफ्नो विशिष्ट लक्ष्य प्रविष्ट गरेपछि सम्पादन योग्य कार्ययोजना समीक्षा गर्न सक्ने र आफ्नै कागजात तथा व्यावसायिक सन्दर्भका आधारमा नतिजा प्राप्त गर्न सक्ने जनाइएको छ। यसरी प्राप्त नतिजालाई सम्पादन, साझेदारी, निर्यात गर्न वा भविष्यमा पुनः प्रयोगका लागि 'रेसिपी'का रूपमा सुरक्षित राख्न सकिने कम्पनीले उल्लेख गरेको छ।
नेपालमा एआईको सम्भावना र वास्तविक प्रयोगबीचको खाडल कम गर्ने उद्देश्यले स्प्रिङबेस एआई डिजाइन गरिएको सह-संस्थापक आकाश जाटियाले बताए। "यस सुरुवातसँगै नेपाललाई आधिकारिक रूपमा एआई युगमा प्रवेश गराउन पाउँदा हामी उत्साहित छौँ। नेपालसँग प्रतिभा र महत्वाकांक्षा दुवै छ; हामी त्यो प्रतिभालाई विश्वव्यापी मञ्चमा प्रतिस्पर्धी बनाउन आवश्यक सुरक्षित र विश्वस्तरीय पूर्वाधार उपलब्ध गराइरहेका छौँ," उनले भने।
कम्पनीका अनुसार यो सेवा आजैबाट नेपालका प्रोफेसनल र संस्थाहरूका लागि करसहित मासिक एक हजार चार सय उनान्सय रुपैयाँमा उपलब्ध छ। इच्छुक प्रयोगकर्ताले आफ्नो डाटामा पूर्ण स्वामित्व र नियन्त्रण कायम राख्दै springbase.ai मार्फत सिधै दर्ता गर्न सकिने जनाइएको छ। नेपालमा माइन्ड स्न्याक प्रालिले इनोभेन्चर्स एआई इन्क.को आधिकारिक कन्ट्री पार्टनरका रूपमा काम गर्ने र स्थानीय स्तरमा अनबोर्डिङ, तालिम, एआई कार्यान्वयन तथा कार्यप्रवाह एकीकरणमा टोलीहरूलाई सहयोग पुर्याउँदै ग्राहकको सफलता सुनिश्चित गर्ने कम्पनीले बताएको छ।
कम्पनीका अनुसार स्प्रिङबेसको लक्ष्य सफ्टवेयरमा पहुँच पुर्याउनु मात्र नभई संस्थाहरूभित्र व्यावहारिक एआई क्षमता विकास गर्नु रहेको छ। कार्यान्वयनमा जोड दिँदै यस प्लेटफर्मले प्रयोगकर्ताहरूलाई बैठकका टिपोट र छरिएका जानकारीलाई स्पष्ट कार्य तथा स्वचालित कार्यप्रवाहमा रूपान्तरण गर्न मदत गर्ने दाबी गरिएको छ।
थप जानकारीका लागि www.springbase.ai मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
