स्काउटको पुनर्संरचनाका लागि नीतिगत तथा कानुनी प्रक्रिया अघि बढाइने: मन्त्री पोखरेल
स्काउटको पुनर्संरचनाका लागि नीतिगत तथा कानुनी प्रक्रिया अघि बढाइने: मन्त्री पोखरेल
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल स्काउटलाई नयाँ पद्धति र प्रणालीअनुसार अघि बढाउन सरकारले नीतिगत तथा कानुनी पुनर्संरचनाको प्रक्रिया थालनी गरेको बताएका छन्।
नेपाल स्काउटको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो जानकारी दिएका हुन्। मन्त्री पोखरेलले स्काउटलाई केवल लाइन मिलाउने वा सामान्य स्वयंसेवकको रूपमा मात्र सीमित नराख्नुपर्ने धारणा राखे। यसले विपद् व्यवस्थापन तथा सीमित स्रोतसाधनमा अधिकतम नतिजा निकाल्ने महत्त्वपूर्ण जीवनोपयोगी शिक्षा प्रदान गरिरहेको उनको भनाइ थियो।
आजका विद्यार्थीमा बढ्दो मानसिक तनाव र स्वास्थ्य समस्या न्यूनीकरणमा स्काउटिङ अभियान निकै प्रभावकारी हुने धारणा समेत उनले व्यक्त गरे। नेपाल स्काउटको हालको साङ्गठनिक संरचनालाई आधुनिक ढंगले रूपान्तरण गर्न मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिँदै उनले नयाँ कार्यसमिति गठनका लागि सरकार सकारात्मक रहेको स्पष्ट पारे। उनका अनुसार स्काउटको कानुनी र नीतिगत सुधारका लागि कानुन मन्त्रालयसँग आवश्यक परामर्श तथा छलफल भइरहेको छ।
स्काउटको योगदान र महत्त्वबारे चर्चा गर्दै उनले भने, 'जतिखेर जनशक्ति र स्वयंसेवकको खाँचो पर्छ, त्यहाँ स्काउटकै उपस्थिति रहने गरेको छ। विपद्को पूर्वतयारी र व्यवस्थापनमा स्काउटले दिने तालिम जीवनभरका लागि महत्त्वपूर्ण पाठ हो। आजका विद्यार्थीमा सानो कुरामा पनि तनाव लिने र मानसिक समस्या देखिने क्रम बढेको छ। स्काउटले दिने शारीरिक व्यायाम र मानसिक प्रशिक्षणले विद्यार्थीलाई अनुशासित, स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत पुर्याउँछ।'
देशको नयाँ संघीय संरचना र आधुनिक आवश्यकतासँग मेल खाने गरी स्काउटलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री पोखरेलले स्काउटले समाजमा पुर्याएको सकारात्मक योगदानको उच्च प्रशंसा गरे।
