रास्वपा महाधिवेशन: एक प्रस्तावकले एकभन्दा बढी उम्मेद्वारको फारम भर्न नपाउने, आयोगको स्पष्टीकरण
रास्वपा महाधिवेशन: एक प्रस्तावकले एकभन्दा बढी उम्मेद्वारको फारम भर्न नपाउने, आयोगको स्पष्टीकरण
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन प्रक्रियामा कुनै पनि पदका उम्मेद्वारका प्रस्तावकले अर्को उम्मेद्वारको प्रस्तावक बन्न नपाउने भएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको सूचनामा कुनै एक व्यक्तिले एकभन्दा बढी उम्मेद्वारको उम्मेद्वारी फारममा प्रस्तावकका रूपमा हस्ताक्षर गर्न नमिल्ने उल्लेख छ । त्यसैगरी, एक समर्थकले पनि एकभन्दा बढी उम्मेद्वारको फारममा समर्थकका रूपमा हस्ताक्षर गर्न नपाइने आयोगले प्रस्ट पारेको छ ।
आयोगका प्रमुख भुवन केसीका अनुसार सभापति पदका उम्मेद्वारले मनोनयन फारम दाखिला गर्दा एक जना प्रस्तावक र ५१ जना समर्थकको नाम, सम्पर्क नम्बर र हस्ताक्षर अनिवार्य रूपमा हुनुपर्छ ।
त्यसैगरी पार्टी पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनेहरूले एक जना प्रस्तावक र २१ जना समर्थकको नाम, सम्पर्क नम्बर र हस्ताक्षर सहितको फारम दाखिला गर्नुपर्नेछ ।
नियमविपरीत दाखिला हुने उम्मेद्वारी फारम स्वतः अमान्य हुने केसीले बताउनुभयो । साथै, कुनै उम्मेद्वारका प्रस्तावक वा समर्थकले स्वयं पदाधिकारी वा सदस्य पदमा उम्मेदवारी दिन नपाउने पनि आयोगले जनाएको छ ।
महाधिवेशनको बन्दसत्र आज हुने भएको छ, जसपछि निर्वाचन प्रक्रिया अघि बढ्ने रास्वपाले जनाएको छ ।
