Aug 23 2026 | २०८३, भदौ ७ गते

महिला सशक्तीकरण र बाल अधिकारमा सहकार्य विस्तार गर्दै नेपाल–अष्ट्रेलिया

महिला सशक्तीकरण र बाल अधिकारमा सहकार्य विस्तार गर्दै नेपाल–अष्ट्रेलिया

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २८ २०८३
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २८ २०८३
  • महिला सशक्तीकरण र बाल अधिकारमा सहकार्य विस्तार गर्दै नेपाल–अष्ट्रेलिया

    काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीलाई अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले मन्त्रालय परिसरमा शिष्टाचार भेट गरेका छन्।

    images

    भेटका क्रममा नेपाल र अष्ट्रेलियाबीच रहेको दौत्य सम्बन्धलाई अझ बलियो बनाउँदै दुई देशबीचको सहकार्यलाई नतिजामुखी दिशामा लैजाने विषयमा दुवैले सहमति जनाए। छलफलमा महिला सशक्तीकरण, बालबालिकाको अधिकार र संरक्षण, अपाङ्गता भएका व्यक्तिको समावेशीकरण, सामाजिक सुरक्षा प्रणाली, हेरचाह अर्थतन्त्र (केयर इकोनोमी) तथा जनशक्ति विकाससम्बन्धी विषयहरू प्रमुख रूपमा उठे। साथै दुवै पक्षले नीतिगत अनुभव आदानप्रदान गर्ने विषयमा पनि कुराकानी गरे।

    मन्त्री बादीले नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध कायम भएयता नै दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको स्मरण गराउँदै आगामी दिनमा यो साझेदारीलाई थप ठोस र प्रतिफलदायी बनाउनुपर्नेमा जोड दिइन्। राजदूत अर्न्स्टले पनि यस क्षेत्रमा अष्ट्रेलिया नेपालसँग निरन्तर सहकार्य गर्न तत्पर रहेको बताए।

    भेटका क्रममा राजदूत अर्न्स्टले नेपालमा अष्ट्रेलिया सरकारले सञ्चालन गरिरहेका विभिन्न विकास साझेदारी कार्यक्रमहरूको जानकारी दिँदै आगामी दिनमा महिला तथा सीमान्तकृत समुदायको सशक्तीकरणमा थप सहयोग गर्न तत्पर रहेको बताए। उनले नेपालको सामाजिक सुरक्षा प्रणालीलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन दुई देशबीच प्राविधिक ज्ञान तथा अनुभव आदानप्रदान गर्न सकिने सम्भावनामाथि पनि चर्चा गरे।

    मन्त्री बादीले हाल नेपालमा कार्यान्वयनमा रहेका सामाजिक सुरक्षा योजनाहरू र अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि सरकारले लिएका नीतिगत पहलहरूबारे राजदूतलाई जानकारी गराइन्। साथै उनले हेरचाह अर्थतन्त्र (केयर इकोनोमी) क्षेत्रलाई संस्थागत रूप दिन र यसमा लगानी आकर्षित गर्न अष्ट्रेलियाको अनुभवबाट सिक्न चाहेको समेत बताइन्।

    भेटको अन्त्यमा दुवै पक्षले भविष्यमा उच्चस्तरीय भ्रमण आदानप्रदान लगायत नियमित संवाद कायम राख्ने र सहकार्यका ठोस कार्ययोजना तयार पार्ने विषयमा सहमति जनाए। यस भेटलाई दुई मुलुकबीचको दौत्य सम्बन्धलाई थप गहिरो बनाउने कदमको रूपमा लिइएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट