युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक : सरोकारवालाको निष्कर्ष
युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक : सरोकारवालाको निष्कर्ष
सरोकारवालाको निष्कर्ष
काठमाडौं, २०२६। नेपालबाट सीपयुक्त युवा जनशक्ति विदेशिने क्रमलाई घटाउन शिक्षा, सीप विकास र उद्योगबीचको खाडल पुर्नु अपरिहार्य रहेको निष्कर्षमा सरोकारवालाहरू पुगेका छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको "नाइमा मोबिलिटी एक्स्पो २०२६" का अवसरमा "प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउने : प्रक्रियामार्फत नेपालमा शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने" शीर्षकको संवाद कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा सहभागी उद्यमी, शिक्षाविद् र सांसदले नेपालमै अवसर सिर्जना गरी युवालाई रोक्न सकिने र विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सकिने साझा धारणा राखेका छन्।
उद्यमी तथा सांसद विदुषी राणाले नेपालमा उद्योग, सूचना प्रविधि, होटल र अटोमोबाइलजस्ता क्षेत्रमा पर्याप्त सम्भावना रहे पनि नीतिगत जटिलता र अवसरको कमीका कारण युवा विदेशिन बाध्य भइरहेको बताइन्। व्यवसाय दर्ता, कर, अनुमति र वित्तीय स्रोतका लागि विभिन्न कार्यालय धाउनुपर्ने झन्झट अन्त्य गर्न "वान विन्डो सिस्टम" लागू गर्नुपर्ने उनको सुझाव थियो।
नाइमा संस्थापक तथा उद्यमी सौरभ ज्योतीले आगामी ५ देखि १० वर्षमा नेपालको अटोमोबाइल क्षेत्रलाई "मेक इन नेपाल"बाट "मेड इन नेपाल"तर्फ लैजान सकिने बताए। यसका लागि एसेम्बली उद्योगसँगै पार्टपुर्जा तथा कम्पोनेन्टको स्थानीय उत्पादन र आपूर्ति शृंखला विकास गर्नुपर्ने उनको भनाइ छ। उनले शिक्षा क्षेत्र र निजी क्षेत्रबीच ठूलो खाडल रहेको औंल्याउँदै उद्योगको आवश्यकताअनुसार पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिए।
थापाथली क्याम्पसका एसोसिएट प्रोफेसर लोचन केन्द्र देवकोटाले विश्वविद्यालयबाट अध्ययन पूरा गर्दैमा विद्यार्थीले भोलिपल्टदेखि नै उद्योगमा आवश्यक सबै काम गर्न सक्ने अवस्था नहुने बताए। पाठ्यक्रम निर्माणदेखि इन्टर्नसिप, अनुसन्धान, विद्यार्थी परियोजना र रोजगारीसम्मको प्रणालीलाई उद्योगसँग जोड्नुपर्ने र विश्वविद्यालयको अनुसन्धान तथा विद्यार्थी परियोजनामा लगानी बढाउनुपर्ने उनको सुझाव छ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या क्याम्पसकी प्राध्यापक भगवती सेढाईले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माण गरेर युवालाई निराश बनाउन नहुने बताइन्। सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र युवाबीच सहकार्य भएमा नेपालमै शिक्षा, सीप र रोजगारीका अवसर सिर्जना गर्न सकिने उनको भनाइ थियो। उद्योगलाई आवश्यक पर्ने जनशक्तिबारे उद्योगी-व्यवसायीसँग छलफल गरेर पाठ्यक्रम निर्माण गर्नुपर्ने र उद्यमशीलता तथा स्वरोजगारसम्बन्धी नीति हाल प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उनले औंल्याइन्। साथै निजी क्षेत्रलाई सीप विकासमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ।
संवादमा सहभागी चारै वक्ताले शिक्षा र रोजगारीबीचको दूरी घटाउन उद्योगसँग प्रत्यक्ष सहकार्य, व्यावहारिक सीप, इन्टर्नसिप तथा अप्रेन्टिससिपलाई प्रभावकारी बनाउनुपर्नेमा एकमत जनाए। नेपालमै अवसर सिर्जना गर्न सकेमा दक्ष युवा विदेशिने क्रम घटाउन सकिने र विदेशिएका युवालाई समेत स्वदेश फर्कने वातावरण बनाउन सकिने धारणा उनीहरूले राखेका छन्।
