Aug 23 2026 | २०८३, भदौ ७ गते

YI-Lab को ओपन हाउस: एउटै छानामुनि युवा उद्यमी, AI र सेन्सर प्रविधि

YI-Lab को ओपन हाउस: एउटै छानामुनि युवा उद्यमी, AI र सेन्सर प्रविधि

AI र सेन्सर प्रविधि

आइतबार, भदौ ७ २०८३
आइतबार, भदौ ७ २०८३
  • YI-Lab को ओपन हाउस: एउटै छानामुनि युवा उद्यमी, AI र सेन्सर प्रविधि

    काठमाडौं — विश्व उद्यमशीलता दिवसका अवसरमा युथ इनोभेसन ल्याब (Youth Innovation Lab)ले युवा उद्यमी, प्रविधिमा रुचि राख्ने युवा, विद्यार्थी, नवप्रवर्तक तथा सामाजिक समस्या समाधानमा सक्रिय व्यक्तिहरूलाई जोड्ने उद्देश्यले बालुवाटारस्थित आफ्नो कार्यालयमा ओपन हाउस तथा उद्यमशीलता हाटबजार आयोजना गरेको छ।

    images

     

    1 (1).jpg
    विश्व उद्यमशीलता दिवसका अवसरमा युथ इनोभेसन ल्याबद्वारा आयोजित ओपन हाउस तथा उद्यमशीलता हाटबजारमा युवा उद्यमीका उत्पादन अवलोकन गर्दै सहभागीहरू।

    औपचारिक प्रदर्शनीभन्दा फरक, प्रत्यक्ष संवाद र अनुभवमा केन्द्रित कार्यक्रमका रूपमा आयोजना गरिएको ओपन हाउसमा करिब एक सय आगन्तुकले युवा उद्यमीका उत्पादन, युथ इनोभेसन ल्याबले विकास गरेका प्रविधि तथा नवप्रवर्तन, डिजिटल तथा भौगोलिक सूचना प्रणालीसम्बन्धी काम र युवाका लागि उपलब्ध विभिन्न अवसरबारे प्रत्यक्ष जानकारी लिएका थिए।

    युवा उद्यमीलाई आफ्नै उत्पादन परीक्षण र बजारसँग जोडिने अवसर

    हाटबजारमा व्यवसायको सुरुवाती चरणमा रहेका युवा उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवाको निःशुल्क प्रदर्शन, प्रवर्द्धन र उपभोक्ता प्रतिक्रिया संकलन गरेका थिए। कफी, हस्तकला, खाद्य तथा रेस्टुरेन्ट सेवा, हर्बल तथा स्थानीय उत्पादनलगायत क्षेत्रमा कार्यरत युवा उद्यमीले स्टल सञ्चालन गर्दै आफ्ना उत्पादनको कथा, उत्पादन प्रक्रिया, बजारसम्म पुग्दा देखिएका चुनौती र व्यवसाय विस्तारका सम्भावनाबारे आगन्तुकसँग प्रत्यक्ष संवाद गरे। कार्यक्रममा अन्जना बस्नेत (हस्तकला तथा सिर्जनात्मक उत्पादन), पोषिलो फुड्स (खाद्य/रेस्टुरेन्ट सेवा), म्याड हनी (हर्बल तथा स्थानीय उत्पादन) लगायतका उद्यमीले स्टल सञ्चालन गरेका थिए।

    5.jpg
    आफ्ना उत्पादन र उद्यमशीलताको अनुभव सहभागीमाझ प्रस्तुत गर्दै हाटबजारमा सहभागी युवा उद्यमी।

     

    GIS देखि नवीन AI मोडलसम्म प्रत्यक्ष प्रदर्शन

    ओपन हाउसको अर्को प्रमुख आकर्षण युथ इनोभेसन ल्याबले प्रविधि, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा सामाजिक समस्या समाधानका क्षेत्रमा विकास र प्रयोग गरिरहेका प्रविधि तथा डेटा–आधारित समाधानको प्रत्यक्ष प्रदर्शन थियो। प्राविधिक टोलीले विभिन्न क्षेत्रमा तयार गरेका GIS तथा interactive maps, डेटा भिजुअलाइजेसन, डिजिटल प्लेटफर्म तथा हालै विकास तथा परीक्षण गरिरहेका AI आधारित मोडल तथा उपकरणहरू प्रस्तुत गरिएको थियो।

    3.JPG
    ओपन हाउसमा प्रदर्शन गरिएका GIS maps तथा data-driven digital solutions अवलोकन गर्दै सहभागी युवा।

     

    4.jpg
    युथ इनोभेसन ल्याबले विकास तथा परीक्षण गरिरहेका नवीन Artificial Intelligence models बारे जानकारी लिँदै आगन्तुक।

     

    in-house विकसित Heat र Air Pollution Sensor

    कार्यक्रममा विशेष आकर्षणका रूपमा युथ इनोभेसन ल्याबले आफैं विकास गरेका Heat Sensor तथा Air Pollution Sensor समेत प्रदर्शन गरिएको थियो। बढ्दो तापक्रम, अत्यधिक गर्मी तथा वायु प्रदूषणजस्ता शहरी र वातावरणीय चुनौतीलाई स्थानीय तहमा मापन, बुझ्न र तथ्यांकमा आधारित समाधान विकास गर्न सहयोग पुर्‍याउने उद्देश्यले यी उपकरण विकास गरिएका हुन्। सेन्सरले कसरी डेटा संकलन गर्छ, तापक्रम तथा वायु प्रदूषणको अवस्थालाई कसरी निगरानी गर्न सकिन्छ र संकलित तथ्यांकलाई नीति, अनुसन्धान तथा समुदायस्तरको निर्णय प्रक्रियामा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे आगन्तुकलाई प्रत्यक्ष जानकारी दिइएको थियो। यससँगै बढ्दो गर्मीको जोखिमसँग जुध्न सञ्चालन भइरहेको Heat AI पहलका अवधारणा र प्रयोगबारे पनि सहभागीलाई जानकारी गराइएको थियो।

    2.jpg
     युथ इनोभेसन ल्याबले विकास गरेको Heat तथा Air Pollution Sensor बारे सहभागीलाई जानकारी दिँदै प्राविधिक टोली।

     

    ओपन हाउसलाई प्रविधि तथा परियोजनाको प्रदर्शनीमा मात्र सीमित नराखी युथ इनोभेसन ल्याबले युवालाई भविष्यमा सहभागी हुन सक्ने उद्यमशीलता, सीप विकास, bootcamp, hackathon र fellowship अवसरबारे समेत जानकारी दिएको थियो। ल्याबले विशेषगरी Disaster Risk Reduction and Management, Climate Change and Climate Innovation, Waste Smart Solutions, Agri-Tech and Agricultural Innovation तथा Technology and Data-driven Social Innovation क्षेत्रमा fellowship तथा innovation opportunities सञ्चालन गर्दै आएको जानकारी दिएको थियो। युवालाई प्राविधिक सीपमार्फत डिजिटल अर्थतन्त्रसँग जोड्ने उद्देश्यले युरोपियन युनियनको सहयोगमा सञ्चालित उडान परियोजना, Tag Me, Heat AI लगायतका कार्यक्रम तथा परियोजनाबारे पनि जानकारी प्रदान गरिएको थियो।

    6 (1).JPG
    उद्यमशीलता, bootcamp, hackathon तथा disaster, climate change, waste smart र agri-tech fellowship अवसरबारे सहभागीलाई जानकारी दिँदै YI-Lab टोली।

    युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले युवाका लागि अवसरको अभावबारे मात्रै कुरा गर्नु पर्याप्त नभएको उल्लेख गर्दै उपलब्ध स्रोत, प्रविधि र सीप प्रयोग गरी नयाँ सम्भावना निर्माण गर्ने वातावरण आवश्यक रहेको बताए। "युवालाई अवसर भएन भनेर मात्र हुँदैन। हामीले अवसर र सम्भावना कसरी सिर्जना गर्न सकिन्छ भन्ने विश्वास र क्षमता पनि विकास गर्नुपर्छ। उद्यमशीलता, प्रविधि र नवप्रवर्तनलाई एउटै ठाउँमा ल्याएर युवालाई आफ्नै सम्भावना देखाउन र नयाँ कुरा प्रयोग गर्न प्रोत्साहित गर्नु यो कार्यक्रमको उद्देश्य हो," उनले भने।

    कार्यक्रम निर्देशक गोमा कार्कीले कार्यक्रममा सहभागी युवाको चासो र प्रत्यक्ष अन्तरक्रियाले कार्यक्रमलाई अर्थपूर्ण बनाएको बताइन्। "हाम्रो उद्देश्य ठूलो भीड जम्मा गर्नु मात्र थिएन। यहाँ आएका प्रत्येक सहभागीले स्टलमा उद्यमीसँग कुरा गर्न, प्रविधि नजिकबाट हेर्न, सेन्सर र डिजिटल समाधानबारे बुझ्न तथा आफू सहभागी हुन सक्ने अवसरबारे प्रत्यक्ष जानकारी लिन पाए। यस्तो गहिरो अन्तरक्रिया नै ओपन हाउसको महत्त्वपूर्ण पक्ष हो," उनले भनिन्। उद्यमशीलता, climate technology, disaster innovation, GIS, AI तथा अन्य प्राविधिक क्षेत्रमा युवाको चासोले आगामी दिनमा थप प्रयोगात्मक कार्यक्रम, bootcamp, hackathon र fellowship विस्तार गर्न प्रेरणा दिएको उनले बताइन्।

    युथ इनोभेसन ल्याबले आगामी दिनमा पनि कार्यालयलाई केवल काम गर्ने स्थानका रूपमा नभई युवा, प्रविधि, उद्यमशीलता र नवप्रवर्तनबीचको खुला सिकाइ तथा सहकार्यको मञ्चका रूपमा विकास गर्दै लैजाने जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट