नेपाल-भियतनाम व्यापारिक सम्बन्धमा योगदान : श्रेष्ठ सम्मानित
नेपाल-भियतनाम व्यापारिक सम्बन्धमा योगदान : श्रेष्ठ सम्मानित
श्रेष्ठ सम्मानित
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष, हिरक जयन्ती समिति सभापति तथा पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको छ। नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूतसमेत रहेका श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रतिष्ठित 'आउटस्ट्यान्डिङ अवार्ड' प्रदान गरेपछि उक्त उपलब्धिको कदरस्वरूप चेम्बरले यो सम्मान गरेको हो।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले श्रेष्ठको उपलब्धिले सम्पूर्ण चेम्बर परिवारलाई गर्व महसुस भएको बताउनुभयो। नेपाल र भियतनामबीचको व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन श्रेष्ठले सेतुका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो। साथै, नेपालस्थित भियतनामी नागरिक तथा व्यवसायीलाई सहजीकरण प्रदान गर्नेदेखि दुई देशबीचको सहयोग अभिवृद्धिसम्ममा श्रेष्ठको योगदान प्रशंसनीय रहेको र उहाँको कूटनीतिक दक्षताले चेम्बरकै समेत शिर उँचो बनाएको अग्रवालले बताउनुभयो।
सम्मान ग्रहण गर्दै पूर्व अध्यक्ष श्रेष्ठले चेम्बरले आफ्नो उपलब्धिको कदर गरेकोमा खुसी व्यक्त गर्नुभयो। भियतनामको परराष्ट्र मन्त्रालयले महावाणिज्यदूतहरूमध्ये अग्रस्थानमा राखेर 'भियतनामको वैदेशिक सेवामा योगदान' अन्तर्गत यो सम्मान प्रदान गरेको उहाँले जानकारी दिनुभयो। यसले नेपाल–भियतनामबीचको सहकार्यलाई अझ प्रभावकारी र सुदृढ बनाउन थप ऊर्जा मिलेको उहाँले बताउनुभयो।
श्रेष्ठले नेपाल चेम्बर अफ कमर्सले पनि नेपाल र भियतनामबीचको व्यापारिक सम्बन्ध तथा लगानीका अवसर विस्तारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
