प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा
प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा
काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचारलगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्रीले यो छलफल सुरु गर्नुभएको हो।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले सर्वप्रथम नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गर्नुभयो। प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्रीले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग समेत छलफल गर्नुभएको छ।
यसअघि प्रधानमन्त्री शाहले सुरक्षाकर्मीहरूको उच्च प्रशंसा गर्दै उनीहरूको साहस अद्भुत रहेको बताउनुभएको थियो। प्रधानमन्त्री आगामी असोज ६ गते राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका प्रस्थान गर्ने र ९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।