कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न, असोज १ गतेदेखि दुईतर्फी यातायात सञ्चालन हुने
कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न, असोज १ गतेदेखि दुईतर्फी यातायात सञ्चालन हुने
असोज १ गतेदेखि दुईतर्फी यातायात सञ्चालन हुने
काठमाडौं — सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसद्मा सम्बोधनका क्रममा घोषणा गर्नुभएको मितिभित्रै पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ ।
रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि सरकारले सुरु गरेको खोज, उद्धार, उपचार र राहत व्यवस्थापनका सम्बन्धमा भदौ १७ गते प्रतिनिधिसभामा जानकारी दिने क्रममा प्रधानमन्त्रीले कृष्णभीरमा अवरुद्ध बनेको सडक भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने बताउनुभएको थियो । सोही घोषणाअनुसार पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा उक्त खण्डमा भदौ २८ गतेदेखि परीक्षणका रूपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज १ गते बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ । यसका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल निरन्तर खटिरहनुभएको छ ।
भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो भने भदौ १४ गते आएको अर्को बाढीले उक्त पर्खाल भत्काएपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो । त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकहरूको सहयोगमा चार दिनसम्म द्रुत अध्ययन गरेको थियो, जसमा विज्ञहरूले कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक बनाउन पहिलो विकल्पका रूपमा सुझाव दिएका थिए ।
विज्ञहरूको सुझावअनुसार भदौ १९ गतेदेखि रुख कटान सुरु गरिएको थियो, त्यसपछि ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड खनेर ट्रयाक निर्माण गरिएको हो । यस काममा प्राविधिकसहित ५० जनाले निरन्तर दैनिक १२ देखि १६ घण्टासम्म काम गरेका थिए, जसका कारण काम सुरु भएको दशौं दिन अर्थात् भदौ २८ गतेदेखि परीक्षणका रूपमा ग्यास बुलेटसहित केही सवारीसाधन सञ्चालन हुन थालेका थिए । त्यसयता बिहान र बेलुका अत्यावश्यक यातायात आवतजावत भइरहेको छ ।
हाल उक्त सडकखण्डमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । भोलिसम्म ग्राभेलको काम पूरा हुने र असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन हुने जनाइएको छ ।