१०९ ठूला सामुदायिक स्कुलमा ६ अर्बको लगानी
१०९ ठूला सामुदायिक स्कुलमा ६ अर्बको लगानी
काठमाडौं, २८ असोज — सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेका बेला शैक्षिक वातावरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन ठूला विद्यालयलाई प्राथमिकतामा राखेर यो योजना अघि बढाइएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ। निकासा भएको रकमबाट विद्यालयमा १२ कोठे तीनतले भवन निर्माण गरिनेछ। प्रति विद्यालय करिब ६ करोड रुपैयाँ लागत अनुमान गरिएका यी भवनमा आधुनिक कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था हुनेछ।
मन्त्री पोखरेलले केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएको र केहीमा विद्यार्थी अभाव रहेको अवस्थालाई ध्यानमा राखेर पूर्वाधार सुधारको काम अघि बढाइएको बताए। "कतिपय सामुदायिक विद्यालयमा विद्यार्थीको उच्च चाप हुनु खुसीको विषय हो भने केही विद्यालय विद्यार्थी अभावबाट गुज्रिरहेको यथार्थप्रति हामी उत्तिकै सचेत छौं," उनले भने। विद्यालयबीचको असमानता कम गर्दै सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधार गर्ने सरकारको लक्ष्य रहेको उनले बताए।
सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको रूपान्तरणमा सबै पक्षलाई हातेमालो गर्न आग्रह गरेका छन्।
