Sep 19 2024 | २०८१, असोज ३ गते

विवादास्पद छविका एकनाथ ढकाललाई ओलीले सांसद बनाएपछि पार्टीभित्रै हङ्गामा

विवादास्पद छविका एकनाथ ढकाललाई ओलीले सांसद बनाएपछि पार्टीभित्रै हङ्गामा

एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर २९ २०७९
एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर २९ २०७९
  • विवादास्पद छविका एकनाथ ढकाललाई ओलीले सांसद बनाएपछि पार्टीभित्रै हङ्गामा

    काठमाडाै‌ । विवादास्पद छविका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिक सांसद बनाएपछि पार्टीभित्रै आलोचना बढेकाे छ । शीर्ष नेताहरूले आन्तरिक रूपमा र तल्ला तहका नेता तथा कार्यकर्ताले खुलेरै नेतृत्वको आलोचना गरेका छन् । 

    images
    images

    अध्यक्ष केपी ओलीकै रुचिमा ढकाल सांसद सिफारिस भएकाले पार्टीका शीर्ष नेताहरूले खुलेर आलोचना गरेका छैनन् । यद्यपि, उनीहरूले भित्रभित्रै असन्तुष्टि पोखिरहेका छन् ।  सामूहिक निर्णयमा नचलेका कारण पार्टीमा लामो योगदान भएका नेता नपरेर ढकालहरूले मौका पाएको नेताहरुकाे दुखेसो गरे । 

    एमाले पूर्वउपाध्यक्ष भीम रावलले जापान सरकारको समेत छानबिनमा परेको होली वाइनको झोली भर्ने तरिका भन्दै असन्तुष्टि राखेका छन् । उनले एउटा दलको अध्यक्ष र अर्को दलको समानुपातिक प्रणालीबाट सांसद बन्नुलाई राजनीतिमा नैतिकताको खडेरी भनी टिप्पणी गरेका छन् ।

    ‘अमेरिकामा कर छलीको आरोपमा दुई वर्ष र कोरियामा जासुसीको आरोपमा तीन वर्ष काराबासको सजाय भोगेका सन मुनद्वारा स्थापित विवादास्पद युनिफिकेसन चर्च आबद्ध होलीवाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधिसभाको सदस्य बनाएको छ । परिवारले ढकालको हस्ताक्षरबाट चुनावमा उम्मेदवार पनि उठाएको छ । एकसाथ एउटा दलको अध्यक्ष र अर्को दलको समानुपातिक प्रणालीबाट प्रतिनिधिसभाको सदस्य, क्या चमत्कार ! राजनीतिमा नैतिकताको खडेरी ! स्मरणीय छ, ढकालको विवाह पनि विदेशी महिलासँग भएको छ,’ रावलले ट्विटमा भनेका छन् । 

    एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ प्राप्त ३४ जनामा ढकाल पनि अटाएका हुन् । बन्दसूचीमा ढकालको नाम खस–आर्य क्लस्टरबाट दोस्रो नम्बरमा थियो । गत वर्ष भएको परिवार दलको तेस्रो महाधिवेशनबाट तेस्रो कार्यकालका लागि ढकाल निर्वाचित भएका थिए । यसअघि उनी परिवार दलबाट संविधानसभा सदस्य भएका थिए । 

    ढकालले स्थापना गरेको युनिभर्सल पिस फेडेरेसनले सन् २०१८ मा आयोजना गरेको एसिया प्यासिफिक समिटमा ओली नेतृत्वको सरकारले राज्य कोषबाट चार करोड रुपैयाँ खर्च गरेको थियो । सो सम्मेलनका क्रममा विदेशबाट आएका विशिष्ट अतिथिहरूलाई स्वागत र भेटवार्ताका लागि भन्दै ओलीले कूटनीतिक मर्यादाविपरीत हायात होटेलमै चार दिन बिताएको भन्दै आलोचना भएको थियो ।

    सो क्रममा आफूलाई जिसस क्राइसकी छोरी बताउने दक्षिण कोरियाली धर्मगुरु हाक जा हान मुनले ओलीलाई एक लाख डलर राशिको ‘गुड गभर्नेन्स अवार्ड’ प्रदान गरेकी थिइन् । सम्मेलनमा अतिथिलाई पिलाइएको ‘होली वाइन’ आलोचित भएको थियो । 

    ढकालले भने पाँच वर्षदेखि एमालेसँग सहकार्य गरेको र समानुपातिकबाट निर्वाचित गराउनकै लागि बन्दसूचीमा प्राथमिकतामा राखेको बताएका छन् । उनले आफ्नो पार्टीको मत सूर्यलाई दिएको र एमालेले पनि आफूलाई प्राथमिकतामा राखेको बताए ।

    एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सहमतिमै ढकाललाई सांसद बनाउन समानुपातिकको बन्दसूचीमा राखिएको बताए । ‘ढकाललाई सांसद बनाउनकै लागि बन्दसूचीमा राखिएको हो । यो पहिले नै तय भएको विषय हो,’ उनले भने ।

    गोरखाको बुर्लाङमा मध्यम वर्गीय परिवारमा जन्मेका ढकाल अहिले विश्वका थुप्रै देशमा सञ्जाल भएको युनिफिकेसन चर्चका अगुवामा पर्छन् । नेपालमा यो संस्था भित्र्याउने उनै हुन् । उनले नेपालका थुप्रै नेतालाई गुड गभर्नेन्स अवार्ड दिलाएका छन् भने थुप्रै नेतालाई पिस एम्बेसडर बनाएका छन् । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट