Sep 19 2024 | २०८१, असोज ३ गते

भाइब्रो हेमर्स’ मेसिन भारतबाट ल्याउन नसकिएपछि डिजाइन फेरिंदै ग्वार्काे ओभरपास

भाइब्रो हेमर्स’ मेसिन भारतबाट ल्याउन नसकिएपछि डिजाइन फेरिंदै ग्वार्काे ओभरपास

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २२ २०८०
  • भाइब्रो हेमर्स’ मेसिन भारतबाट ल्याउन नसकिएपछि डिजाइन फेरिंदै ग्वार्काे ओभरपास

    काठमाडौं । ग्वार्काेमा निर्माणाधिन ओभरपासमा ४ वटा ‘पाइल’ रहने गरी डिजाइन गरिएकोमा गहिरोसम्म पुगेर काम गर्न आवश्यक पर्ने ‘भाइब्रो हेमर्स’ मेसिन ठेकेदार कम्पनीले भारतबाट ल्याउन नसकिने बताएपछि डिजाइन फेरिने भएकाे छ । 

    images
    images

    अब ४ वटाको सट्टामा गहिरो नहुने गरी १२ वटा पाइल राख्न प्रस्ताव गरिएकाे छ । चीन सरकारको सहयोगमा विस्तारित चक्रपथस्थित ग्वार्को चोकमा बनिरहेको ‘ओभरपास’को डिजाइनअनुसार काम गर्न ठूला मेसिनहरु नै उपलब्ध नभएको भन्दै ठेकेदार कम्पनीले डिजाइन पुनरवलोकनका लागि सडक विभागसँग अनुमति लिएकाे हाे ।

    केही हप्तामै ठेकेदार कम्पनीले डिजाइन ‘रिभ्यू’ गरेर सडक विभागमा बुझाउने र डिजाइन स्वीकृतिपछि नयाँ डिजाइनअनुसार काम थाल्ने योजना छ । यसका कारण ओभरपास निर्माणको काम प्रभावित भएको छ ।

    सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जजनका अनुसार ‘एमएसी वालको जगको डिजाइन पनि रिभ्यु हुँदैछ । यसअघिको डिजाइनअनुसार काम गर्न व्यवहारिक समस्या परेपछि ठेकेदारले नयाँ डिजाइन पेश गर्न लागेकाे हाे । 

    आयोजनाको डिजाइनको काम ठेकेदार आफैंले गरेको थियो । आफूले गर्नै नसक्ने काम गर्ने गरी डिजाइन तयार गर्दा आयोजनाको निर्माण सकिने गरी तोकिएको अवधिभन्दा ८ महिनाअघि डिजाइन नै बदल्न लागिएको हो ।

    ठेकेदारले गरेको नयाँ डिजाइनमा ओभरपासको ग्रेड, ब्रिज क्लेयरेन्ससहित ओभरपासको भारवहन क्षमता लगायतका पक्ष मजबुत रहने/नरहने पक्ष हेरेर विभागले डिजाइन पुनरवलोकनलाई स्वीकृत गरिने सिनियर डिभजनल इन्जिनियर महर्जनले बताए ।

    अहिलेको डिजाइनअनुसार ग्वार्कोको ओभरपासमा विदेशमा जस्तो पिल्लर र त्यसमुनि सडक हुने छैनन् । चक्रपथको बीचका मुख्य चार लेन (फास्ट ट्रयाक)मा र्‍याम्प (भिरालो बाटो) बनाएर चोकमा पुल निर्माण गरी सवारी आवागमन व्यवस्थित गरिने छ ।

    योजनाअनुसार सडक विभागले बीएन्डबी अस्पतालतर्फबाट मुख्य चारलेनमा चोकसम्म १८५ मिटरको लामो र्‍याम्प बनाउनेछ । त्यसैगरी बालकुमारीतर्फबाट ३२० मिटरको अर्को र्‍याम्प बन्ने छ । र्‍याम्प र पुल गरी ५४० मिटरको ओभरपास संरचना बन्नेछ ।

    ४ प्रतिशतको ग्रेडिङ भएको र्‍याम्प बनाउन विभागले ‘मेकानिकल्ली स्टेबलाइज्ड अर्थ रिटेनिङ वाल’ लगाउनेछ र त्यसभित्र माटो भर्नेछ । माटो भरेपछि त्यसमाथि चार लेनको सडक नै निर्माण गरिनेछ । र्‍याम्पको चौडाइ १६ मिटरको हुनेछ । जसमा विस्तारित चक्रपथको अन्य भागको जस्तै समानान्तर रूपमा ४ लेनकै सडक बनाइनेछ ।

    मुख्य चोकमा ३५ मिटरको पुल (सम्म भाग) रहनेछ । जुन पुलको मुनिबाट रिंगरोड वारिपारि गर्ने सवारीहरु विनाअवरोध ‘क्रस’ गर्न सक्नेछन् । अर्थात् ओभरपासको पुल निर्माण भएपछि इमाडोल–पाटन गुड्ने सवारीसाधन फ्लाइओभरकै मुनिबाट वारपार गर्नेछन् ।

    बीचका सडकमा र्‍याम्प बनाएर ओभरपास बनाए पनि सर्भिस लेनहरु अहिलेकै अवस्थामा रहने छन् । सडक विभागले २७ माघ, २०७८ मा ओभरपास बनाउन ठेक्का लगाएर डिजाइनको जिम्मा दिएको थियो । ४ महिनाभित्रै ओभरपासको डिजाइन गरेर थप २० महिनाभित्रै बनाइसक्ने गरी खरिद सम्झौता भएको थियो ।

    इन्जियिरिङ प्रक्रयोर्मेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडल अनुसार ठेक्का लागेपछि इन्जिनियरिङ डिजाइनकै काममा ठेकेदार कम्पनीले १० महिना समय लगाएको थियो । निर्धारित समयअनुसार काम भएमा अबको फागुनभित्र ओभरपास बनिसक्नुपर्छ ।

    यो परियोजना निर्माणको जिम्मा आशिष, रेलिगेयर, समानान्तर जेभीले लिएको छ । अनुमानित लागतभन्दा करिब ३८.८ प्रतिशत कम मूल्यमा यो कम्पनीले ठेक्का हात पारेको हो । १७ करोड ६ लाख रुपैयाँमा ठेक्का लागेको यो ओभरपास बनिसकेपछि ५ वर्षसम्म ठेकेदार कम्पनीले नै मर्मतसमभार गर्नुपर्ने खरिद सम्झौतामा उल्लेख छ ।

    यो ओभरपास बनाउँदा सबैभन्दा ठूलो समस्या चक्रपथको ट्राफिक व्यवस्थापन पर्ने अनुमान छ ।

    सडक विभागले सातदोबाटो र एकान्तकुनामा पनि ओभरपास बनाउन सम्भाव्यता अध्ययन गरिसकेको छ । सरकारले ग्वार्को, सातदोबाटो र एकान्तकुनामा ओभरपास बनाउन चालु आर्थिक वर्ष २०७९/८० मा २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । स्रोतको सुनिश्चितता भए सातदोबाटोमा पनि ओभरपास बनाउन ठेक्का लगाउने विभागको योजना छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार