Sep 19 2024 | २०८१, असोज ३ गते

चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्को

चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्को

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
  • चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्को

    जानकी । शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिए। उनले नेपालगन्जको गर्मी, शरीरभरि पसिनैपसिना खटकराजले पसिना पुछ्दै बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिम्ला जान लागेको बताए ।
     
    साठी वर्ष पार गरिसकेका उनले बर्खे बाली लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउन भारतको सिमला जाने गरेको बताए । “परिवार एक्लैले बर्खा खेती लगाउन सक्दैनन् भनेर म लगाउन आउँछु । खेती लगाइसकिएपछि पैसा कमाउनका लागि फेरि भारतको सिमलामै जान्छु”, उनले भने, “मिले दसैँ–तिहारमा घर फर्कन्छु, नमिले साथीभाइ आउँदा उनिहरूसँगै चाडबाड मनाउने पैसा पठाइदिन्छु ।” 

    images
    images

    बुढाले विगत ३५ वर्षदेखि खेती लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउनका लागि भारत जाने गर्दै आएका छन् । नेपालमा जति काम गरे पनि राम्रो पारिश्रमिक नपाउने र पाए पनि ठेकेदारले पैसा नै नदिने उनले गुनासो गरे । “नेपालमै केही गरौँ भन्ने सोच र जाँगर भए पनि कामको उचित व्यवस्थापन छैन, न त मूल्य नै छ”, उनले भने, “घरपरिवार छाडेर अर्काको देशमा काम गर्न जाने रहर त मलाई पनि कहाँ छ र रु तर गुजाराका लागि पनि जानैपर्ने बाध्यता छ ।”

    बुढाजझैँ सुर्खेत मेलकुनाका हरि ओली पनि असारे खेतीबाली लगाएर परिवारको छाक टार्न भारतमा मजदुरीका लागि जाँदै गर्दा जमुनाहमा भेटिए । घरमा स्कुल पढ्ने छोराछोरी छन् । पढाउनलाई र दसैँ–तिहारको जोहो गर्न आफू भारत जानुपर्ने बाध्यता भएको उनले बताए । उनले भने, “हाम्रो देशमा व्यवसाय गर्न पनि लगानी चाहिन्छ । लगानी लगाएर व्यवसाय गर्न मेरो हैसियतले भ्याउँदैन । रहरले भन्दा पनि बाध्यताले भारतमा मजदुरी गर्न जानुपरेको छ ।” उमेरले ५६ वर्ष पार गरिसक्नुभएका ओलीले भारत गएर कमाउन थालेको २२ वर्ष भएको बताए ।

    यसैगरी रोजगारीका लागि भारत जाँदै गरेका दैलेखका विनय क्षेत्रीको पनि कथाव्यथा बुढा र ओलीको जस्तै छ । उनि पनि बर्खे खेती लगाउनका लागि घर आएको र खेती लगाएर दसैँ–तिहारको जोहो गर्न भारतको सिमला जान लाग्दै गर्दा जमुनाहनाकामा भेटिए। उमेरले ४८ वर्ष लागेका क्षेत्रीले नेपालमा रोजगारीको अभावसँगै स्वरोजगारका लागि सीप र लागतको पनि अभावले आफू बर्षैँपिच्छे भारत जानुपरेको बताए । “आफूसँग हातमा सीप छैन, व्यापार–व्यवसाय गर्न लगानी छैन, अनि महिना दिन ढुक्कले काम गर्ने रोजगारी पाइँदैन । भारतमा त जस्तो भन्यो त्यस्तै काम पाइन्छ अनि दाम पनि । त्यसैले मजदुरी गर्न भारतको सिमला जान लागेको हुँ ।”

    बुवा र काकाको साथमा सानै उमेरदेखि भारतमा गएर मजदुरी गर्दै आएको विनयले बताए। विगत १८ वर्षदेखि भारतमा गएर काम गर्न सुरु गरेका विनयलाई सुरुमा भारतमा जानका लागि आफ्नो देशको नाका पार गर्दा नमज्जा लागेको अनुभव सुनाए । “पहिलोपटक काम गरेर पैसा कमाउन बुवा र काकासँग भारत गएको थिएँ । त्यतिबेला यही नाकामा म मनैमन रोएको पनि थिएँ । साह्रै नमज्जा लागेको थिए । अहिले त बानी परिसक्यो”, उनले भने, “आफ्नै गाउँठाउँमा बस्ने रहरलाई मारेर अर्काको देशमा खुन पसिना बगाउन मलाई मन छैन तर यो बाध्यता हो ।”

    प्रत्येक वर्ष नेपालगन्जस्थित जमुनाहनाका हुँदै दसैँ–तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको लर्को लाग्ने गर्दछ । यस वर्ष पनि असारे खेतीबाली सकेर दसैँ–तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको लर्को सीमानाकामा देख्न सकिन्छ । असारे खेतीबाली लगाएर रोजगारीको सिलसिलामा दैनिक भारत जाने नेपालीको सङ्ख्या योपटक भने दुई सयभन्दा बढी भएको सीमानाका जमुनाहले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार