नाफा घटाउँदै नेपाल टेलिकम !
नाफा घटाउँदै नेपाल टेलिकम !
कुल आम्दानीमा वृद्धि भएपनि कम्पनीले खर्च व्यवस्थापन गर्न नसक्दा नाफा घटेको हो । कम्पनीको कर्मचारी खर्च ७ अर्ब ३६ करोड ९७ लाखबाट बढेर ८ अर्ब ३३ लाख रुपैयाँ पुगेको छ ।
काठमाडौं । सरकारी स्वामित्वकाे नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले पछिल्लाे समय नाफा घटाउँदै गएकाे छ । भ्वाई कल, डाटा प्रयाेगमा आएकाे कमीका कारण उसले धेरै कमाई गर्न सकेकाे छैन । गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ७ अर्ब ८० करोड ४५ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा ८ अर्ब ४७ करोड ७ लाख ३४ हजार नाफा कमाएकोमा गत आर्थिक वर्षमा कम्पनी नाफा ७.८६ प्रतिशतले गिरावट भएको हो । कम्पनीको सेवा बिक्रीबाट हुने आम्दानी घटेपनि कम्पनीको वित्तीय आम्दानीमा वृद्धि हुँदा कुल आम्दानी सामान्य बढेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा ३७ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ सेवा बिक्रीबाट आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षमा ३६ अर्ब ८० करोड ४० लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।
तर, वित्तीय आम्दानी भने ५ अर्ब ९० करोड ७४ लाखबाट बढेर ७ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ पुगेको छ । जसले गर्दा कम्पनीको कुल आम्दानी ४४ अर्ब ३७ करोड ४५ लाखबाट बढेर ४४ अर्ब ८६ करोड ८७ लाख पुगेको छ ।
कुल आम्दानीमा वृद्धि भएपनि कम्पनीले खर्च व्यवस्थापन गर्न नसक्दा नाफा घटेको हो । कम्पनीको कर्मचारी खर्च ७ अर्ब ३६ करोड ९७ लाखबाट बढेर ८ अर्ब ३३ लाख रुपैयाँ पुगेको छ ।
सञ्चालन तथा अन्य ममर्त खर्च ७ अर्ब ५ करोड ८३ लाखबाट बढेर ७ अर्ब ५० करोड १२ लाख पुगेको छ । कम्पनीको वित्तीय खर्च ७७ करोड ९ लाखबाट ४७ करोड ५० लाखमा झर्दा ह्रासकट्टी ५ अर्ब ६१ करोड ४६ लाखबाट बढेर ६ अर्ब १९ करोड ९५ लाख पुगेको छ ।
कम्पनीको विभिन्न खर्चमा भएको वृद्धिले गर्दा नाफामा गिरावट भएको हो । १८ अर्ब चुक्तापूँजी रहेको कम्पनीको नाफा घट्दै प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ०६ पैसाबाट घटेर ४३ रुपैयाँ ३६ पैसामा झरेको छ ।
कम्पनीको जगेडा तथा सञिचत कोषमा ७५ अर्ब ८२ करोड ५२ लाख रहेको छ । ५२१ रुपैयाँ २७ प्रसा प्रतिसेयर नेटवर्थ रहेको कम्पनीको मूल्य आम्दानी अनुपात २०.९२ गुणा छ ।
कम्पनीको दिर्घकालिन ऋण १ अर्ब १८ करोड ३७ लाखबाट घटेर ९८ करोड ६५ लाखमा झरेको छ । कर्मचारीले ३ अर्ब ७९ करोड ४० लाख ऋण लिएका छन् ।
सेवा बिक्रीको आम्दानीमा गिरावट र सञ्चालन खर्चमा वृद्धि हुँदा नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) को नाफा घटेको टेलिकमका उच्च अधिकारीहरुकाे भनाई रहेकाे छ ।