परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पताल स्तरोन्नतिको पर्खाइमा
परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पताल स्तरोन्नतिको पर्खाइमा
काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालको स्तरोन्नतिको पर्खाइमा छ । बिरामीको अत्यधिक चापलाई ध्यानमा राखेर अहिले रहेको ४१५ शैय्याबाट स्तरोन्नति गरी ७०० शैय्या पु-याउन लागिएको हो ।
अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीले बिरामीको चापलाई ध्यानमा राखेर शैय्या थपेर अस्पताल सञ्चालन गर्नुपरेको बताए । उनका अनुसार सात सय शैय्याका सञ्चालनका लागि आवश्यक जनशक्तिका माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कर्मचारीको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) का लागि अनुरोध गरिएको छ ।
सरकारले निःशुल्क शैय्या व्यवस्था गरेपछि अस्पतालमा बिरामीको चाप बढेको छ । “पाठेघरका महिलालाई पनि शैय्या निःशुल्क गरेपछि बिरामीको सङ्ख्या बढेको छ,” उनले भने, “पहिला दिनमा ७० देखि ८० जना भर्ना हुन्थ्यो भने अहिले सयभन्दा बढी बिरामी भर्ना हुने गर्दछन् ।” बिरामीको चाप बढेपछि प्रसुति भएको महिनालाई आठदेखि १० घण्टामा नै घर पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
अस्पतालमा एउटा मात्र भवनमा सबै सेवा दिइरहेको अस्पतालले कुपण्डोलमा बनिरहेको सय शैय्याको नयाँ भवनमा सर्ने तयारी गरेको छ ।
नयाँ अत्याधुनिक छ तले भवनमा चार वटा तलामा उपचार सेवा र दुई तला पार्किङ रहनेछ । नयाँ भवन बनेपछि अस्पतालले प्रसुति बाहेकका सबै सेवा उपलब्ध गराउने तयारी गरिएको छ । स्त्रीरोग, सुरक्षित गर्भपतन, टेष्टट्युव बेबी (आइभिएफ) र अरु सेवा त्यहीँबाट प्रदान गर्ने अस्पतालका निर्देशक डा अधिकारीले जानकारी दिए । अस्पतालको भवन छ महिनाभित्र सक्ने गरी काम भइरहेको छ ।
उनले प्रसुति बाहेकका सबै सेवा कुपण्डोलमा सारेपछि थापाथलीमा खाली हुने भवनमा प्रसुतिका विरामीलाई क्याबिनमा राख्न सक्ने, सघन उपचार कक्ष (आइसियु) र नवजात सघन हेरचाह एकाई (एनआइसियु)जस्ता सुविधा थप गर्ने योजना रहेको बताए । अस्पतालमा अहिले १० शैय्याको (एनआइसियु) र स्पेशल बेबी केयर युनिट ३० शैय्या रहेको छ ।
बाहिर अस्पतालमा धेरै महङ्गो उपचार हुने भएकाले अहिले बिरामीको पहिलो रोजाई प्रसुति अस्पताल बनेको छ । “अन्य अस्पतालमा महङ्गो उपचार रहेकाले धेरै बिरामीहरु हाम्रै अस्पतालको एनआइसियुमा उपचार गर्न आउने गर्दछन्,” उनले भने, “जटिल खालका रोगको उपचारका लागि पनि धेरै बिरामी आउने गर्दछन् । त्यसैले एनआइसियु शैय्या थप्ने तयारीमा छौँ ।”
उहाँका अनुसार अस्पतालले एक महिनाभित्र थप १० वटा एनआइसियु शैय्या भेन्टिलेटरसहित सञ्चालनमा ल्याउनेछ । थप १० शैय्या थप्दा धेरै नवजात शिशुलाई बाहिर अस्पतालमा रिफर गर्नु नपर्ने उहाँको भनाइ रहेको छ । बाहिर अस्पतालको एनआइसियु धेरै महङ्गो रहेको र प्रसुति अस्पतालमा भने एनआइसियु निःशुल्क रहेको छ ।
काउण्टर थप्दै
अस्पतालले बिरामी छिटो सेवा प्रदान गर्नका लागि काउन्टर थप्ने तयारी रहेको छ । बिरामीलाई दुई घण्टाभित्र उपचार गरेर घर फर्कन सकून् भनेर काउन्टर थप गरिएको उनले बताए । धेरै बिरामी आउन थालेपछि एउटा पैसा तिर्ने काउन्टर र अर्को टिकटको काउण्टर थपिने भएको छ । यस्तै फार्मेसी पनि दुईटा काउन्टर थपेर तयारी रहेको छ ।
अस्पतालले अहिले कुपण्डोलमा टेष्टट्युव बेबी (आइभिएफ) सेन्टर सञ्चालन गरेको छ । प्रत्येक दिन ७० जना निःसन्तान बिरामीको उपचार गर्ने गरेको छ । तीमध्ये सामान्य विरामीलाई उपचार गरी घर पठाउने र आइभिएफका लागि भने महिना–महिनामा एक पटक कुपण्डोलस्थित अस्पतालबाट उपचार सेवा दिने गरेको जनाएको छ ।
आइभिएफलाई व्यवस्थित गर्नका लागि नयाँ उपकरण खरिद गर्न थालेको बताए । दूरबिनबाट शल्यक्रिया, ल्याप्रोस्कोपी विधिबाट पाठेघरको शल्यक्रिया, अण्डाको ट्युमर, सानासाना शिष्ट, बच्चा नहुने महिलालाई पाठेघरको उपचार अस्पतालले गरिरहेको छ । “पहिला हामीले महिलालाई सबै सेवा दिन सकेका थिएनौं” उनले भने, “हप्तामा ६ वटासम्म दूरविनबाट शल्यक्रिया गर्दछौं । चिरेर शल्यक्रिया पनि थुप्रै गर्दछौं ।”
अस्पतालले निःसन्तान परिवारका लागि उपचारका लागि काठमाडौँ आउनु झन्झट हटाउन थालेको छ । सरकारले चारवटा आइभिएफ सेन्टर खोल्ने योजनासहित अस्पतालले बिरामीलाई काठमाडौँ आउनुपर्ने अवस्थाको अन्त्य गर्न थालेको हो । सरकारले निःसन्तान परिवारका लागि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र मधेश प्रदेशमा गरी चारवटा आइभिएफ सेन्टर स्थापना गर्ने तयारी गरेको छ ।
आभिएफका लागि चिकित्सक, नर्स र ल्याबटेक्निसियनलाई चारवटै सेन्टरका दुई ब्याचको तालिम दिइसकेको छ । काठमाडौँ आउन झन्झटिलो, खर्चिलो हुने र उपचारमा बस्न पनि लामो समय लाग्ने भएकाले त्यहाँका बिरामीलाई उपचार गर्नका लागि हामीले स्वास्थ्यकर्मीलाई आइभिएफसम्बन्धी तालिम दिन शुरु गरिसकेको उनले बताए। अब ८० प्रतिशत बिरामीलाई काठमाडौँ आउनुपर्ने झन्झट र खर्चिलो उपचार गर्नुपर्ने कम हुने उनको भनाइ छ । अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत छात्रवृत्तिमा १५ जना विद्यार्थीलाई एमडी अध्ययन पढाउन शुरु गरेको छ ।
