अब नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता
अब नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता
ग्लोबल आइएमई बैंकमा खाता
ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँग मिलेर अब सोही एपमार्फत बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ।
नागरिक एपमा दर्ता भएका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको आधारमा एपबाट बैंकको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरेर व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्। खाता खोल्न आवश्यक पर्ने क्यूआर कोड तलको लिङ्कमा गएर प्राप्त गर्न सकिनेछ: https://nagarik.gibl.com.np
नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो बैंक ग्लोबल आइएमई बनेको छ, जसले सर्वसाधारण नागरिकलाई बैंक खाता खोल्ने प्रक्रिया अझ सजिलो बनाइदिएको छ।
१८ वर्ष वा सोभन्दा माथिका र राष्ट्रिय परिचयपत्र बनाई नागरिक एपमा जोडिएका नागरिकहरूले यसबाट अनलाइन नै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सक्नेछन्। यसका लागि प्रयोगकर्ताको स्वीकृति लिएर बैंकले खाता खोल्न चाहिने व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित तरिकाले लिनेछ।
यसो हुँदा बारम्बार आफ्नो विवरण भर्नुपर्ने झन्झट हट्ने मात्र होइन, ग्राहकको गोपनीयता र जानकारीको सुरक्षा पनि सुनिश्चित हुनेछ। नागरिक एपबाट खोलिएको खाता भने चलाउनका लागि ग्राहकले नजिकैको शाखामा गएर वा भिडियो केवाईसीबाट प्रमाणीकरण गर्नुपर्नेछ।
यो सेवा सुरु गर्दै ग्लोबल आइएमई बैंकले सरकारी डिजिटल संरचनाको उपयोग गरी सुरक्षित र सजिलो डिजिटल बैंकिङ सेवा विस्तार गरेको बताएको छ। बैंकका अनुसार नागरिक एपसँगको यो सहकार्यले खाता खोल्ने प्रक्रिया थप सरल, पारदर्शी र प्रविधिमैत्री बनाउने र ग्राहकलाई अझ राम्रो बैंकिङ अनुभव दिने विश्वास लिइएको छ।
लामो समयदेखि आधुनिक प्रविधि र राम्रो ग्राहक सेवाका लागि चिनिँदै आएको ग्लोबल आइएमई बैंकले 'बैंक अफ द इयर २०१४', 'बेस्ट इन्टरनेट बैंक २०१६' लगायत सन् २०२४, २०२५ र २०२६ मा लगातार 'बेस्ट बैंक नेपाल'को उपाधि पाइसकेको छ। साथै बैंकले युरोमनी अवार्ड फर एक्सेलेन्स (२०२२, २०२४, २०२५), बेस्ट बैंक ईएसजी नेपाल २०२४ र बेस्ट इम्प्लोयरजस्ता पुरस्कार पनि जितेको छ।
देशका सबै ७७ जिल्लामा शाखा विस्तार गर्ने पहिलो निजी वाणिज्य बैंक पनि ग्लोबल आइएमई नै हो। हाल बैंकले ३४२ शाखा, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा विदेशी प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा दिइरहेको छ।
यसका अतिरिक्त बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान दिइरहेको छ।
