Sep 17 2024 | २०८१, असोज १ गते

बेनी–जोमसोम–कोरला सडकको आठ  खण्डको  निर्माण सकियो

बेनी–जोमसोम–कोरला सडकको आठ  खण्डको  निर्माण सकियो

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
  • बेनी–जोमसोम–कोरला सडकको आठ  खण्डको  निर्माण सकियो

    म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरलासडक योजनाको आठवटा खण्ड स्तरोन्नति गरिएको छ । 

    images
    images

    पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/०७४ देखि सुरु भएको सो योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति सकिएको हो । 

    म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन रु सात अर्ब ५५ करोड लागत अनुमान गरिएको सो योजनाका लागि आर्थिक वर्ष २०७९/०८० सम्म रु ६ अर्बभन्दा बढी खर्च भइसकेको छ । योजनाका प्रमुख जगत प्रजापतिले ६ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र दुई वटा खण्डको १७ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिँदा समग्र योजनाको भौतिक प्रगति ७५ पुगेको जानकारी दिए । 

    “एक सय किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएकामा मुुस्ताङको थासाङ गाउँपालिका–५ को कैकुखोलादेखि खन्ती जोड्ने १६ किलोमिटर खण्डमा कालोपत्र सकिएको छ”, उनले भने, “कागबेनी–कोरलाखण्डको सातमध्ये २५ किलोमिटर दूरीमा चराङ–छोसेरबाहेक छ खण्डमा ग्राभेल गरिएको छ ।” 

    एक किलोमिटर तीन सय मिटर दूरीको गलेश्वर–राहुघाटखण्डमा पूरै सडक कालोपत्रे गरिएको  छ भने  कैकुखोला–खन्तीखण्डकमा आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको छ । तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक कालोपत्र गर्न विसं २०७८ मा ठेक्का सम्झौता गरेका ठेकेदार डेढ वर्षपछि काममा फर्किएका योजना प्रमुख प्रजापतिले जानकारी दिए । 

    तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले ठेक्का लिएको छैटौँ खण्डको चराङ–छोसेर २५ किलोमिटर सडकमा तीन वर्षपछि ठेकेदार काममा फर्किएका छन् । ८५ प्रतिशत भौतिक प्रगति भएको यो खण्डको सडक ११ मिटर फराकिलो बनाएर ग्राभेल गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

    जोमसोम–कोरला खण्डको अन्य छवटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकेर निर्माण व्यवसायीले हस्तान्तरण गरिसकेका योजना प्रमुुख प्रजापतिले बताए । 

    अठार किलोमिटर दूरीको कागबेनी–ताङ्वे बज्रगुरु खड्गकृष्ण जेभी, ११ किलोमिटर ताङ्वे– चैलेको दिवाडाफे एपेक्स जेभी, ११ किलोमिटर दूरीको चैले–भेनाको कान्छाराम कोशी एण्ड न्यौपाने जेभी र १२ किलोमिटर भेना–झैते सडक कञ्चनजङ्गा लामा बिल्डर्स बिरुवा जेभीले ठेक्का लिएका थिए । 

    झैते–चराङ १९ किलोमिटर कञ्चनजङ्गा लामा मोतीदान जेभी र छोसेर–कोरला १४ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा रौताहा एपेक्स जेभी कन्ट्रक्सनले लिएका थिए । तेह्र किलोमिटर दूरीको मालढुङ्गा–बेनी खण्डको ४२, तीन किलोमिटर दूरीको बेनी–गलेश्वर खण्डको ८५ प्रतिशत, राहुघाट–नारच्याङ पुल खण्डको ८५ प्रतिशत, नारच्याङपुल–घाँसा खण्डको ६० प्रतिशत प्रगति भएको छ । म्याग्दीको राहुुघाटदेखि मुस्ताङको घाँसा खण्डको सडक पहिरोले असर पारको छ । 

    योजनामार्फत आठ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण सकिएका छन् । थप एक वटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । बाह्र वटा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणका लागि प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताए । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । यस सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार