Sep 17 2024 | २०८१, असोज १ गते

अर्थतन्त्रलाई चलायमान बनाउन ‘भरतपुर भ्रमण वर्ष’

अर्थतन्त्रलाई चलायमान बनाउन ‘भरतपुर भ्रमण वर्ष’

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
  • अर्थतन्त्रलाई चलायमान बनाउन ‘भरतपुर भ्रमण वर्ष’

    चितवन । आन्तरिक र विदेशी पर्यटकलाई भित्र्याउन सकेमा सुस्ताएको अर्थतन्त्र चलायमान हुने आज आयोजित एक कार्यक्रमका सहभागीहरुले धारणा राखेका छन् । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा आज  आयोजना गरेको छलफलमा सहभागीले कोभिडसँगै सुस्ताएको अर्थतन्त्र पर्यटनमार्फत चलायमान बनाउनुपर्ने बताएका हुन् ।
     
    स्वदेशीसँगै विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रममा बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुष्कर महर्जनले भरतपुरको भ्रमण वर्ष बागमती प्रदेशको समेत भ्रमण वर्ष भएकाले यसलाई सफल बनाउन प्रदेशले आवश्यक सहयोग गर्ने बताए ।
     
    नेपालमै भौतिक निर्माणमा अग्रणी रहेको भरतपुरमा भ्रमण वर्षमा पर्यटक भित्रिँदै गर्दा यहाँको आर्थिक गतिविधि चलायमान हुने उनको भनाइ थियो । भारतीय पर्यटक भित्र्याउनेमा आफूहरु लागिरहेको भन्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रचारमा लाग्नुपर्ने बताए ।
     
    सोही समयमा बागमती प्रदेशले समेत भ्रमण वर्षको आयोजना गरेकाले यहाँको गतिविधिले समग्र प्रदेशलाई नै फाइदा पुग्ने उनको भनाइ छ । कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षमा विदेशी पर्यटकलाई समेत भित्र्याएर ठप्प रहेको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताए । पालिकास्तरमा पहिलोपटक भ्रमण वर्ष मनाउन लागेको भन्दै उनले कसरी हुन्छ पर्यटक भित्र्याउनेमा सबैलाई एकजुट भएर लाग्न आग्रह गरे । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई बाघ र गैँडा देखाएर मात्रै पठाउने गरी तयारी थालेको उनले बताए ।
     
    ऐतिहासिकस्थल दियालो बङ्गला खुल्ला गरी हेर्ने वातावरणका लागि गृहकार्य भइरहेको भन्दै उनले ठोरी भन्सार नियमित सञ्चालन गरेर भारतीय पर्यटक भित्र्याउने विषयमा कुराकानी भइरहेको जानकारी दिए । महानगरले भ्रमण वर्ष मनाउँदै गर्दा प्रमुख सडक मर्मत गरिने भन्दै उनले राष्ट्रियस्तरका गतिविधिहरु भरतपुरमा केन्द्रित गर्न सबैलाई आग्रह गरे ।
     
    महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगरभित्र सातवटा मुख्यसहित ३० वटा गन्तव्य रहेको भन्दै भ्रमण वर्षको तयारी तीव्र रुपमा भइरहेको बताए । प्रदेश र सङ्घसँग समन्वय गरी भ्रमण वर्षलाई सफल बनाउन विभिन्न समिति बनाएर काम गरिएको उनको भनाइ थियो । महानगरका पर्यटनविज्ञ डा विश्व सुवेदीले हालसम्म भएका गतिविधिका बारेमा जानकारी गराउँदै वार्षिक ३० हजार पर्यटक भित्रिने गरेको भरतपुरमा यो सङ्ख्या दुई लाख पु-याइने बताए ।
     
    विश्वका ५२ राष्ट्रमा भ्रमण वर्षका बारेमा जानकारी गराइएको उनको भनाइ थियो । कार्यक्रममा सहभागीहरुले भ्रमण वर्षलाई लक्षित गरी विभिन्न सुझावहरु दिएका थिए । सन् २०२४ को जनवरीबाट डिसेम्बरसम्म विभिन्न कार्यक्रमको आयोजना गरी भ्रमण वर्ष मनाइँदै छ ।

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार