Sep 08 2024 | २०८१, भदौ २३ गते

मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्‌

मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्‌

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ २५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ २५ २०८०
  • मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्‌

    काठमाडौं । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्‌को राष्ट्रिय प्रणाली(ग्रिड)मा जोडिएको छ। नेपाल विद्युत्‌ प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाडसम्म विद्युत्‌ पुर्‍याएको हो। 

    images
    images

    प्राधिकरणले आइतबारबाट गमगाडलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत्‌ आपूर्ति दिन सुरु गरेको छ। प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत्‌ आयोजनाबाट विद्युत्‌ उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरुमा विद्युत्‌ आपूर्ति गर्दै आएको थियो। मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत्‌ पुगेको छ। 

    अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ। हुम्लामा राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन ठेक्का सम्झौता सम्पन्न भइ सर्वे भइरहेको प्राधिकरणले जनाएको छ। 

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत्‌ समय–समयमा बन्द हुँदा मुगुमा हुने विद्युत्‌ आपूर्तिको समस्या राष्ट्रिय प्रसारण लाइन पुगेपछि समाधान हुने बताए। उनले राष्ट्रिय प्रसारण लाइन पुगेकाले विद्युतीकरण तीव्र रुपमा अगाडि बढाइने बताए। अहिले मुगुमा प्राधिकरणका ३ हजार ५ सय घरधुरी ग्राहक छन्। गत वर्षको असोजमा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युत्‌गृहमा क्षति पुग्दा विद्युत्‌ उत्पादन बन्द भएको थियो। प्राधिकरणले तत्कालै डिजेल जेनेरेटर जडान गरी विद्युत्‌ आपूर्ति दिएको थियो। 

    भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युत्‌गृहको १ हजार १०० मिटर लामो नहरमध्ये झण्डै ७०० मिटरमा क्षति पुर्‍याइएको थियो। यसैगरी, बाढीपहिरोबाट विद्युत्‌गृहको सबस्टेसनका संरचनाहरुमा पनि क्षति पुगेको थियो। बाढीपहिरोले क्षति पुर्‍याएको नहरको पुनर्निर्माण र मर्मत जलविद्युत्‌गृह सञ्चालनमा ल्याइएको थियो। 

    मुगुको विद्युत्‌ आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३/११ केभी सबस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति कार्य भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताए।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार