Sep 20 2024 | २०८१, असोज ४ गते

सवारी दुर्घटना न्यूनीकरण गर्न सबैको भूमिका महत्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ

सवारी दुर्घटना न्यूनीकरण गर्न सबैको भूमिका महत्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज १४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज १४ २०८०
  • सवारी दुर्घटना न्यूनीकरण गर्न सबैको भूमिका महत्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सवारी दुर्घटनाले निम्त्याएको कहालीलाग्दो अवस्थाको अन्त्य गर्न सरोकारवाला सबैको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’को उद्घाटन गर्दै उनले सडक सुरक्षा ट्राफिक प्रहरीको मात्रै नभएर चालक र अन्य सबैको उत्तिकै जिम्मेवारीको पक्ष भएको बताए । 

    images
    images

    “यति समयमा गन्तव्यमा पुग्छौँ भन्ने अनुमानलाई सिद्ध बनाउन सक्नु हामी सबैको जिम्मेवारी हो”, गृहमन्त्री श्रेष्ठले भने, “सडक जामले मानिस समयमा काममा नपुग्ने, जामको बहाना देखाउने, दुर्घटनाबाट धेरै क्षति हुने भएकाले सडक गुणस्तरको समस्यालाई सबै मिली समाधान गर्नुपर्छ ।” उनले सडक ट्राफिक लाइटको वैज्ञानिक प्रयोग गर्ने र ट्राफिक प्रहरीलाई थप ‘इन्सेन्टिभ’ दिनेबारे पनि छलफल चलिरहेको बताए।

    सडक दुर्घटनाबाट ठूलो मानवीय तथा भौतिक क्षति भइरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले पछिल्लो १० वर्षमा सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या भयावह देखिएको बताए । “सडक दुर्घटनाबाट हुने दुःखद् स्थितिको अन्त्य गर्नु, त्यसलाई प्रभावकारीरुपमा न्यूनीकरण गर्न सचेत पहलकदमी गर्नु सबैको जिम्मेवारी हो”, उनले भने । सवारी दुर्घटना न्यूनीकरण गर्ने जिम्मेवारी ट्राफिक प्रहरीको मात्र नभएको जनाउँदै गृहमन्त्री श्रेष्ठले सडकको गुणस्तर, क्षमता, सवारी साधनको गुणस्तरीयता, सवारी चालक र आमनागरिकको चेतना तथा आचरण दुर्घटनाका कारण बन्दै आएको बताए । 

    प्रहरी महानिरीक्षक वसन्त कुँवरले उपत्यकाको ट्राफिक व्यवस्थापनका सम्बन्धमा नेपाल प्रहरी र सरोकारवाला पक्षबीच सहकार्य अभिवृद्धि गरी आमनागरिकमा प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने बताए । बढ्दो सरहरीकण, जनघनत्वका आधारमा सवारी पूर्वाधारको अभाव, सवारी साधनको तीव्र वृद्धि, मानवीय, वातावरणीय र यान्त्रिकलगायत कारणले सडक दुर्घटना बढेको उनको भनाइ थियो । “प्रहरीले आगामी दुई वर्षको कार्ययोजनामा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाइ प्रणालीगत सुधार गर्ने योजना तर्जुमा गरेको छ”, उनले भने । 

    वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौँमा सार्वजनिक यातायातको विकासबिना जनताले सुख नपाउने उल्लेख गर्दै सार्वजनिक यातायातमा सरकारले लगानी गर्नुपर्ने बताए । उनले काठमाडौँ उपत्यकाको साँघुरा सडक, अव्यवस्थित पार्किङ, सवारीसाधनको अत्यधिक चापका बाबजुद पनि ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन गरिरहेको बताए । 

    काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले राजधानीमा सुरक्षितरुपमा विरोध प्रदर्शन गर्ने स्थान नतोकिँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको बताए। अन्तर्राष्ट्रियस्तरका सडक पूर्वाधार निर्माणमा सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिँदै उनले दुर्घटना न्यूनीकरण तथा सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए । 

    काठमाडौँ महानगरपालिकका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले यातायात क्षेत्र सुधारका लागि काठमाडौँ महानगरपालिकाले रू ३४ करोड विनियोजन गरेको जानकारी दिए । उनले सडक सुरक्षालाई प्रभावकारी बनाउन तथा दुर्घटना न्यूनीकरणका लागि प्रत्येक व्यक्तिले प्रण गर्नुपर्नेमा जोड दिए । 

    यातायात व्यवस्थापन विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले सवारी दुर्घटना न्यूनीकरण गर्न चालक, प्रयोगकर्तालगायतमा सचेतनाको खाँचो रहेको बताए । सवारी व्यवस्थापन गर्न प्रदेश सरकार, स्थानीय तहसँग समन्वय गरेर विभागले काम गरिरहेको उनको भनाइ थियो ।  

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताए । दुर्घटना कम गराउन सवारी चालक तथा मजदुरलाई ट्राफिक सचेतना र तालिमको व्यवस्था गर्नुपर्ने भन्दै सडक पूर्वाधार सुधारमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।  

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र ट्राफिक व्यवस्थापन कार्य सम्भव नहुने हुँदा सम्पूर्ण सरोकारवाला निकायको सहकार्य एवं जिम्मेवारीपूर्ण भूमिका निर्वाहले मात्रै सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्भव हुने बताए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट