Sep 20 2024 | २०८१, असोज ४ गते

मन्त्रिपरिषद्‌बाट पास गरी ल्याएको विषय राष्ट्रपतिले इन्कार गर्न मिल्दैन : रामचन्द्र पौडेल

मन्त्रिपरिषद्‌बाट पास गरी ल्याएको विषय राष्ट्रपतिले इन्कार गर्न मिल्दैन : रामचन्द्र पौडेल

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १५ २०८०
  • मन्त्रिपरिषद्‌बाट पास गरी ल्याएको विषय राष्ट्रपतिले इन्कार गर्न मिल्दैन : रामचन्द्र पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदले गरेको निर्णयको जस अपसजको भागी सरकार नै हुने बताएका छन् । संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराइदिने अनुरोध गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डलसँगको कुराकानीका क्रममा राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् । 

    images
    images

    उनले संविधानले राष्ट्रपतिलाई विवेक प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर ३४ जनाको आममाफीका लागि गृह मन्त्रालयबाट आएको पत्र फिर्ता गराएको स्मरण गराए। 

    सरकारले सबै प्रक्रिया पुरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको समेत उनले स्पष्ट पारे ।  ‘हाम्रो संविधान, हाम्रो गणतन्त्र र हाम्रो संसदीय व्यवस्था तपाईहरूले बुझ्नुभएको छैन भन्ने मलाई लाग्दैन’, राष्ट्रपति पौडेलले भने, ‘तपाईहरू संसद्‍मा हुनुहुन्छ, सरकार पनि संसद्‍मा नै छ, त्यही तपाईहरूले प्रधानमन्त्री, गृहमन्त्रीलाई किन जवाफदेही बनाउन सक्नुभएन र सोझै यहाँ आउनुभयो ? अलिकति यो संविधान र व्यवस्थाअनुसार प्रक्रिया मिलेन कि जस्तो लाग्यो ।’ उनले कहिलेकाहीँ यहाँ आउनुपर्ने अवस्था नेताहरूको हुनसक्छ तर यस पटक आएको चाहिँ उल्टो भयो कि जस्तो लागेको बताए। ‘संविधानमा राष्ट्रपतिले स्वविवेकले आममाफी दिन सक्ने व्यवस्था टेकेर आएको ३४ जनाको बारेमा विधि, प्रक्रियाका सम्बन्धमा मैले प्रश्न उठाएर गृह मन्त्रालयमा फर्काइदिएको छु,’ पौडेलले भने, ‘जहाँसम्म ६७० जनाको बाँकी कैद मिनाहाको विषय छ त्यो सबै प्रक्रियाहरू पुर्‍याएर मन्त्रिपरिषद्‌ले निर्णय गरेपछि आएको विषय मैले स्वीकार गर्नुपर्ने संवैधानिक व्यवस्था छ।’

    राष्ट्रपति पौडेलले कानुन नमिलेको भए कानुन मिलाउने, संशोधन गर्ने अधिकार संसद्‌लाई भएको स्मरण गरे। राष्ट्रपति पौडेलले यतिबेला संविधान, यो व्यवस्था, गणतन्त्रमाथि नै प्रहार भइरहेको भन्ने चिन्ता उठिरहेको बताउँदै भने, ‘तपाईंहरू जस्तो संविधान र गणतन्त्रप्रति प्रतिबद्ध भएका नेताहरूले होसियार भएर सोच्न जरुरी छ। म सुन्छु, सबै कुराको दोष राष्ट्रपति संस्थामाथि थोपरेर यो व्यवस्था र गणतन्त्र नै ठिक छैन भन्ने पुष्टि गर्न र ७० वर्ष लडेर ल्याएको यो प्रणालीलाई कमजोर पार्न खोजिँदैछ। यसमा तपाईंहरू सचेत हुनुहोला र यसलाई जोगाउनु तपाईंहरूको दायित्व हो।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट