पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु
पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु
काठमाडौं । काठमाडौं विश्वविद्यालय र जापानको होक्काइडो विश्वविद्यालयको आयोजना तथा नेपाल पर्यटन बोर्डको आतिथ्यमा शुक्रवार देखि पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल सहित भारत, चीन, संयुक्त राज्य अमेरिका, बेलायत, जापान, भियतनाम, स्पेन, र पोल्याण्डका प्रतिष्ठित वैज्ञानिक र प्राज्ञिक विज्ञहरूले ७० भन्दा बढी प्राविधिक छलफल र मुख्य प्रस्तुतिहरू राख्नेछन् ।
सम्मेलनमा विभिन्न देशका सय भन्दा बढी वैज्ञानिक र प्राज्ञिक विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनमा दीगो पर्यटनका विषयमा गहन छलफल हुनेछ । गतवर्षको मंसिर मंसिर १५, १६ र १७ गते काठमाण्डौंको चन्द्रागिरिमा प्रथम अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास सम्मेलन–२०२२ आयोजना गरिएको थियो । त्यसैको दोस्रो संस्करणका रुपमा यो पटक पोखरामा कार्यक्रम आयोजना गरिएको हो ।
सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री जीतबहादुर आले मगरले जलवायु परिवर्तन विश्वको साझा मुद्धा भएको उल्लेख गर्दै यसबाट हुने जोखिम न्युनिकरणका लागि विश्व समुदायको साझा चासो र चिन्ता आवश्यक भएको बताए । उनले नेपालको पर्यटनको आधार हिमाल भएको बताउँदै यसको संरक्षणमा सरोकारवाला निकायहरु बीच समन्वय आवश्यकता माथी जोड दिए ।
सम्मेलनमा मुख्य वक्ताको रुपमा प्रा.डा.मार्टिन प्राइसले माउण्टेन अन ग्लोबल एजेण्डा (Mountains on global agendas: 5-decade perspective) र प्रा.डा. तेजी वातानाबेले रिजेनेरेशन टुरिजम केश स्टडीः डेसेत्सुजान नेशनल पार्क (Regenerative tourism: case study Daisetsuzan National Park" respectively) विषयमा प्रस्तुतिकरण दिएका थिए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले सम्मेलनले दिगो पर्वतीय पर्यटनका चुनौती र उत्कृष्ट अभ्यासका बारेमा विश्वव्यापी रूपमा छलफल र आदानप्रदान गर्न उपयुक्त मञ्च प्रदान गर्ने बताए । कार्यक्रममा भारत सरकारका प्रतिनिधि राजीव रञ्जन मिश्र र प्राध्यापक डा. विश्वजित राय चौधरीले हिमाल र नदीको साझा सम्पदाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
काठमाडौं विश्वविद्यालयका डा. रिजनभक्त कायस्थको अध्यक्षतामा शुरु भएको उद्घाटन सत्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरालाई महोत्सव स्थलको रूपमा छानेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरे ।
सम्मेलनको पहिलो दिन “भू–संरक्षण, भू–पार्क र भू–पर्यटन, “पहाडी संरक्षित क्षेत्रमा दिगो मनोरञ्जन प्रयोगको प्रावधान सुनिश्चितता, “पहाडी नदीहरूमा भौगोलिक विविधता र कनेक्टिभिटी“ लगागतका प्राविधिक विषयहरुमा समानान्तर सत्रहरू सञ्चालन गरिएको थियो । शनिवार र आइतावार पनि विभिन्न समानान्तर सत्रहरुमा दीगो पर्यटन , जवलायु परिवर्तन र यसको असर प्रभाव लगायतका विषहरुमा कार्यपत्र प्रस्तुत हुनेछन् ।
गतवर्ष सम्मेलनमा विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तन र यसले हिमालय र समग्र वातावरणमा पारेको असरबारे गम्भीर चिन्ता र चासो व्यक्त गर्दै हिमालहरुको संरक्षण गर्न नसके यसले प्राकृतिक र मानवीय दुवै क्षेत्रमा गम्भीर परिणाम ल्याउन सक्ने भन्दै सरोकारवालाहरूलाई गम्भीर बन्न सुझाव समेत दिएका थिए । साथै उनीहरुले पर्यटनको लागि हिमालको दिगो व्यवस्थापनको लागि सरोकारवालाहरू सबैको चासो र एकीकृत प्रयास आवश्यक भएको निष्कर्ष निकालेका थिए ।