नवलपरासीबाट ९ लाख बराबरको पटका बरामद
नवलपरासीबाट ९ लाख बराबरको पटका बरामद
नवलपरासी । पश्चिम नवलपरासीबाट साढे नौ लाख बराबरको पटाका बरामद गरिएको छ । भित्री सडकबाट पिकअपमा लोड गरेर भूमहीतर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नं. २६ गण नवलपरासीको गस्ती टोलीले उक्त पटका बरामद गरेको हो । बरामद भएको पटकाको बजार मूल्य ९ लाख ५० हजारभन्दा बढी रहेको गणका सूचना अधिकारी डीएसपी यज्ञमान साउदले जानकारी दिए ।
भारतको ठुठीबारीबाट महेशपुर नाका हुँदै उक्त पटका ल्याइएको हो । बरामद भएको पटका एक पिसलाई ३० देखि ८/९ सय रुपैयाँसम्म पर्ने खालको रहेको सशस्त्र प्रहरीले जनाएको छ । तीव्र गतिमा गाडी कुदेको देखेपछि शंका लागी चेकजाँच गर्ने क्रममा बाग्मती प्रदेश ०३, ००१ च ११३८ नं. को पिकअपबाट पटका बरामद भएको डीएसपी साउदले बताए ।
बरामद भएको पटकालाई खाल्डोमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पटकासँगै बरामद सवारी साधनलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार चलान गरिएको छ ।
पटकासँगै पक्राउ परेका चालकलाई लिएर शंकास्पद गोदाम हेर्न पुगेका सशस्त्र प्रहरी र स्थानीयबीच विवाद उत्पन्न भएको थियो ।
विवादका क्रममा सशस्त्र प्रहरीको गाडीमा रहेका पिकअप भ्यानका चालक पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरका सुनिल गुप्तालाई स्थानीयको भीडले भगाएको सशस्त्र प्रहरीले जनाएको छ ।
गाडीको कागजपत्र र चालकको लाइसेन्स भने प्रहरीसँगै छ । त्यसै आधारमा फरार चालकलाई पक्राउ गरिने साउदले बताए ।