इजरायल–हमास युद्ध : इरानको संलग्नताले तेलको भाउमा पर्ने असर कस्तो होला ?
इजरायल–हमास युद्ध : इरानको संलग्नताले तेलको भाउमा पर्ने असर कस्तो होला ?
काठमाडौँ । इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह हमासबीच युद्ध सुरु भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा फेरबदल देखिन थालिसकेको छ । युद्धले मध्यपूर्वमा तेलको उत्पादनमा कस्तो प्रभाव पार्ला भन्नेबारे अड्कलबाजी बढिरहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिन थालेको हो ।
सोमबार लन्डनस्थित आईसीई एक्सचेन्जको कोमक्स डिभिजनमा कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ४ दशमलव २ प्रतिशतले बढेर ८८ डलर १५ सेन्टमा उक्लियो । न्यूयोर्कस्थित न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्लयूटीआई)को भाउ पनि उक्त दिन ४ दशमलव ३ प्रतिशतले बढेर प्रतिब्यारेल ८६ डलर ३८ सेन्टमा उक्लियो ।
यसैबिच मंगलबार तेल बजारमा भाउ केही घटेको छ । यो समाचार तयार पार्दासम्म मंगलबार ब्रेन्ट क्रुडको भाउ अघिल्लो दिनको भन्दा शून्य दशमलव ६ प्रतिशत र डब्लयूटीआई शून्य दशमलव ४९ प्रतिशत तल किनबेच हुँदै थियो । इजरायल र गाजा दुवैले उल्लेख्य रूपमा तेल उत्पादन गर्ने होइनन् । अहिले अधिकांशलाई डर चाहिँ यो युद्धले मध्यपूर्वभर नै अस्थिरता उत्पन्न गराउने अनि सो क्षेत्रको तेल उत्पादन वा तेलको ढुवानी प्रभावित हुने हो कि भन्नेमा छ । मध्यपूर्वमा इरान, साउदी अरब जस्ता विश्वका शीर्ष तेल उत्पादक देशहरू छन् । विश्वको तेल बजारमा महत्त्वपूर्ण चेकप्वाइन्टको रूपमा रहेको हर्मुज खाडी पनि यही पर्छ ।
अहिलेका लागि तेलको भाउ बढाउन सक्ने दुई वटा सम्भावित कारण जारी युद्धमा इरान र लेबननस्थित सशस्त्र समूह हजबुल्लाहको संलग्तालाई हेरिएको छ । सीमावर्ती क्षेत्रमा तनाव बढिरहँदा इजरायलले हानेको बमबारीमा परेर आफ्ना तीन सदस्यको मृत्यु भएपछि सोमबार हजबुल्लाले एक पछि अर्को गर्दै रकेट प्रहार गरेको थियो ।
हमासले शनिवार गरेको अप्रत्याशित आक्रमणमा आफ्नो संलग्नताको इरानले खण्डन गरेको थियो । वाल स्ट्रिट जर्नलले भने सो आक्रमणमा इरानी सुरक्षा अधिकारीहरूले सहयोग गरेको दाबी गर्दै समाचार लेखेको थियो । अमेरिका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा इरानी तेलमाथि पुनः प्रतिबन्ध लगाएका थिए । सन् २०२२ मा इरानको तेल निर्यात र उत्पादन दुवै बढ्यो । यो वर्ष इरान र वाशिङटनले इरानको विवादास्पद परमाणु कार्यक्रमबारे छलफल पुनः सुरु गरेका थिए ।
हमासको आक्रमणमा इरानको संलग्नता एउटै प्रमाण भेटियो भने सो वार्ता त बिथोलिने छ नै अमेरिकाले इरानी तेलमाथि थप प्रतिबन्ध लगाउने पक्कापक्की छ । तेलको भाउमा हालै देखिएको वृद्धिले इजरायल र हमासबीच जारी युद्धको आगो झनै भड्किएर मध्य पूर्वका अन्य देशहरू पनि यसमा होमिने पो हो कि भन्नेप्रति तेल बजार सशङ्कित छ भन्ने सङ्केत गरेको वूड म्याकिन्जेका विश्लेषक एलन गेल्डरले भनेका छन् । तत्कालीन प्रभाव भने इरानी निर्यातमा अमेरिकाले प्रतिबन्ध लगाउने हो ।
यो द्वन्द्वमा इरान पनि मुछियो भने तेलको भाउ प्रतिब्यारेल ५ देखि १० डलरसम्म बढ्न सक्ने र्यापिडियन इनर्जी ग्रुपका अध्यक्ष बब म्याकनल्लीले सोमबार सीएनबीसीसँगको एउटा अन्तरवार्तामा भनेका थिए ।
अहिले तेलको भाउमा भएको वृद्धिले इजरायल र प्यालेष्टाइनबीच सन् १९७३ तेल संकटको झल्को दिएको छ । इजिप्ट र सिरियाले इजरायलमाथि अचानक आक्रमण गर्दा तेलको भाउ आकासिएको थियो । सो द्वन्द्वमा अमेरिकाले इजरायललाई समर्थन गरेको प्रतिकारमा अरबका तेल उत्पादक देशहरूले अमेरिका र यसका केही मित्र देशहरूमाथि नाकाबन्दी लगाएका थिए । यो घटना लगत्तै केही महिनामै कच्चा तेलको भाउ बढेर चौबर भएको थियो ।
तर अहिलेको अवस्था निकै फरक छ । तेलको भाउमा त्यस्तो खालको नाटकीय वृद्धि हुने सम्भावना शून्य बराबर भएको रोथम्यान बताउँछन् ।
एजेन्सी