सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलन गर्ने
सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलन गर्ने
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिममा कृषि र औद्योगिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले बताएका छन् । सम्मेलन आयोजना गर्न मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा आयोजक मूल समिति गठन गरिएको छ । मूल समितिमा संघीय संसदका सांसदहरू, प्रदेशका मन्त्रीहरू, प्रदेश सभाका सभामुख उपसभामुख, प्रदेश सभा सदस्यहरू रहेका छन् ।
सम्मेलन आयोजनाका लागि अन्य तीन वटा समिति पनि गठन गरिएका छन् । प्रतिनिधिसभा सदस्य आरजु राणा संयोजक रहेको सल्लाहकार समिति, प्रदेश मन्त्री प्रकाश देउवा संयोजक रहेको निर्देशक समिति र आर्थिक मामिला मन्त्री नरेशकुमार शाही संयोजक रहेको कार्यकारी समितिसमेत गठन गरिएको छ । आवश्यकता अनुसार थप समिति र उपसमितिहरूसमेत गठन गरिने भएको छ ।
सरकारले आधार पत्र तयार गरेर सम्मेलनमा देश र विदेशमा रहेका लगानीकर्ताहरूलाई सहभागी गराउने र लगानी प्रतिवद्धता लिने निर्णय गरिएको मन्त्री शाहीले बताए ।