यू–१९ एसिया कप : पाकिस्तानले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने
यू–१९ एसिया कप : पाकिस्तानले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने
काठमाण्डौँ । एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले टस हारेको छ । दुबईको आईसीसी एकेडेमी ओभल–२ मा टस जितेर पाकिस्तानका कप्तान साद बेगले बलिङ गर्ने निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।
प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । नेपाल रहेको समूह 'ए' मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह 'बी' मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन् ।
नेपालको १९ वर्षमुनिको टोलीको इतिहास हेर्ने हो भने भारत, न्युजिल्यान्डजस्ता टेस्ट टोलीलाई हराएको छ । सन् २०१७ मा नेपालले भारतलाई हराएको थियो । तर अहिलेसम्म नेपाल एसिया कपको फाइनलमा पुग्न सकेको छैन ।
नेपालका मुख्य प्रशिक्षक जगत टमाटाले भारत र पाकिस्तानसँग खेल्न निकै उत्साहित रहेको बताएका छन् । नेपालले दोस्रो खेल पर्सि आइतवार अफगानिस्तानसँग र तेस्रो खेल २६ गते भारतसँग खेल्नेछ ।
मङ्सिर २९ गते सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलमा समूह 'ए' को विजेता र समूह 'बी'को उपविजेता तथा समूह 'बी' को विजेता र समूह 'ए' को उपविजेता खेल्नेछन् । सेमिफाइनलमा पुग्न कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।
यो प्रतियोगिताको सबै खेलको लाइभ एसीसीको युट्युब च्यानलमा हेर्न सकिनेछ ।