जबरजस्ती करणी मुद्दाका प्रतिवादी किरण राई पक्राउ
जबरजस्ती करणी मुद्दाका प्रतिवादी किरण राई पक्राउ
काठमाडौँ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी किरण राई पक्राउ परेका छन् । खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ ठेगाना भएका १९ वर्षीय राई रेड नोटिस जारी भएको पाँच दिन भित्रै पक्राउ परेका हुन् ।
एनसिबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनका लागि आज नेपाल फिर्ता ल्याइएको छ ।
राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो ।
अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौँको अनुरोधमा इन्टरपोल सचिवालयबाट यही पुस २० गते उनीविरुद्ध रेड नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।