विवाहको लागि लाइसेन्स लिने व्यवस्था गरौं : आरजु राणा
विवाहको लागि लाइसेन्स लिने व्यवस्था गरौं : आरजु राणा
काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् । बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेतृ राणाले सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी हुन् ।
उनले विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने बताइन् । उनले विवाह गर्नको लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरू आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने बताइन् ।
उनले यसका लागि वडा तहदेखि कानुनी रुपमा नीति बनाउन आवश्यक रहेको बताइन् । विवाह अगाडि सबै प्रक्रिया पुर्याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक रहेको बतयन् । उनले अन्तर्राष्ट्रिय धेरै देशहरूमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको पनि बताइन् ।
उनले बालविवाह, महिला हिंसा, बलात्कार जस्ता विकृतिहरू रोक्नको लागि कानुन नै एकमात्र विकल्प हुनसक्ने बताइन् । उनले भने ‘हाम्रो समाजमा विवाह दर्ता गर्ने प्रचलन छ । विवाह दर्ता गरेन भने कतिपय कुराहरू हामीले पाउँदैनौँ । विवाहको लागि लाइसेन्स लिने राम्रो हुन्छ । यो वडामा नै ल्याउन सकिन्छ । यो एउटा चलन किन सुरु नगर्ने त रु २०३० सम्म जुन च्यालेन्स मिट गर्ने हो । यो गर्न सोसल इन्जिनियरिङले मात्रै पुग्दैन । लिगल केही कुरा ल्याउन सकियौँ भने हुन्छ । विवाह दर्ता गर्ने पहिला नै लाइसेन्स लिनुपर्यो । त्यो बेला नागरिकता हुनैपर्यो । यो भयो भने मायामा फसाएर विवाह गर्ने ट्राफिकिङ पनि रोकिन्छ । विवाह गर्छु भनेर भगाएर बेच्ने परम्परा पनि रोकिन सक्छ । कति जनाले बुबा आमालाई समेत झुक्याएर विवाह गरि दिएका हुन्छन् । लाइसेन्स लिएर विवाह गर्ने भएपछि सबै तथ्य आवश्यक भयो । यो एउटा एकदमै राम्रो उपाय हुनसक्छ । वडा जिल्ला प्रशासन अफिसमा धेरै डण्डा हुन्छ । त्यसमा एउटा पानमा मात्रै विवाह लाइसेन्स थप्ने हो । धेरै देशहरूमा विवाह लाइसेन्स लिनैपर्छ । अगाडि नै विवाह भइसकेकाहरूलाई के गर्ने ? जसले विरोध गर्छ उनीहरूलाई सुरक्षा कसले दिने ? पहाडी जिल्लाहरूमा स्कुल लेभलमा नै विवाह गरेकाहरू छन् । उनीहरूलाई कसले अभिमुखीकरण गर्ने ।’
उनले नेपालका पहाडी जिल्लाहरूमा विद्यालय अध्ययनताका नै विद्यार्थीहरूले विवाह गर्ने गरेको बताइन् । उनले कम उमेरमा विवाह गर्नेहरूलाई आवश्यक अभिमुखीकरण दिनुपर्ने बताइन् ।