ढाकामा रेस्टुराँमा आगलागी हुँदा कम्तीमा ४३ को मृत्यु
ढाकामा रेस्टुराँमा आगलागी हुँदा कम्तीमा ४३ को मृत्यु
ढाका । ढाकाको एउटा बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी ढाकाको एक रेस्टुरेन्टमा बिहीबार राति १० बजे आगलागी भएको थियो ।
आगो पूरै भवनमा फैलिएको अनि दर्जनौँ मानिस यसमा फसेको बताइएको छ । अग्नि नियन्त्रक अधिकारीहरूका अनुसार आगो नियन्त्रणमा लिइएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ । बङ्गलादेशका स्वास्थ्य मन्त्री सामन्त लाल सेनका अनुसार ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनालाई मृत घोषणा गरिएको छ ।
सहरको मुख्य बर्न अस्पतालमा कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ । सेनाले अरू दर्जनौँ घाइतेलाई उपचारका लागि त्यहाँ पठाएको बताइएको छ । रेष्टुरा रहेको भवन सात तले थियो ।
यो भवनमा अन्य रेस्टुरेन्टहरू, कपडा पसल, फोन पसल थिए । आगो लागेपछि मानिसहरू आत्तिएर कोही भवनको माथिल्लो तलातिर चढ्दै थिए । कोही पाइपबाट तल ओर्लिएका थिए । आत्तिएर कोहीले भर्याङबाट हामफाले कोही झ्यालबाट । घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।