१६ अर्ब छुट दिएकोमा अख्तियारले प्रचण्डसँग सोध्नुपर्छ– एमाले सचिव भट्टराई
१६ अर्ब छुट दिएकोमा अख्तियारले प्रचण्डसँग सोध्नुपर्छ– एमाले सचिव भट्टराई
काठमाडौँ। नेकपा एमालेका सचिव योगेश भट्टराईले विद्युतको १६ अर्ब छुट दिएको आरोपमा प्रतिनिधिसभाले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्पष्टीकरण सोध्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै कुन कानून र अधिकारको प्रयोग गरेर विद्युत बक्यौता छुट दिनुभयो ? भन्दै प्रश्न गरे । उनले भने, ‘२१ अर्ब ८८ करोड बक्यौता छ । एक पैसा पनि बाँकी नराखी उठाउनुपर्छ भनेर हामीले भनिरहेका छौं । प्रचण्ड प्रधानमन्त्री भएपछि उहाँले हल गर्नको लागि उहाँले गएको वैशाख २७ गते प्राधिकरणलाई बक्यौतालाई ६ अर्बमा झारेर १६ अर्ब मिनाहा गर्ने आशयको पत्र लेख्नुभयो । तपाईंले कुन कानून र अधिकारको प्रयोगले १६ अर्ब छुट दिने निर्णय गराउनुभयो ?’ उनले विद्युत्को सबै बक्यौता कानून अनुसार उठाउनुपर्ने एमालेको मत रहेको सुनाए ।
उनले भने, ‘हामीले कुनै नयाँ निर्णय गरौं, कसैलाई कारबाही गरौं भनेको छैन । हामीले तत्कालीन मिनेन्द्र रिजाल नेतृत्वको उपसमितिले दिएको प्रतिवेदनको निष्कर्ष र त्यस आधारमा सार्वजनिक लेखा समितिले गरेको निर्णयलाई कार्यान्वयन गरौं भनेको हो । त्यसमा विद्युत बक्यौताको सबै पैसा उठाउनुपर्छ र त्यही अनुसारको निर्देशन प्राधिकरणलाई दिने भनिएको छ ।’