विकासको घाम उदाएन अझै चुरे वस्तीमा
विकासको घाम उदाएन अझै चुरे वस्तीमा
सर्लाही । सर्लाहीको उत्तरी चुरे क्षेत्रका साविक नारायण खोला गाविस (लालबन्दी–१४) र परवानीपुर गाविस (लालबन्दी–१५) सडक सञ्जालमा जोडिन नसक्दा स्थानीयको दैनिकी निकै कष्टकर बनेको छ । दुई वडाका नागरिकले व्यवस्थित सडकको अभावमा अत्यन्त विकट ‘कर्णाली’को अवस्था महसुस गरिरहेका छन् । यहाँका स्थानीयको लागि वर्षाको खहरे खोला नै हिउँदभरि यातायात चल्ने सडक बनेको छ ।
वर्षाको बेलामा गाउँमा कोही बिरामी परिहाले उपचार गर्न अस्पतालसम्म लैजानसमेत नपाइने लालबन्दी–१५, सिरकालिन्जोर निवासी राम्रीमाया थिङले बताइन् । ‘वर्षामा कि त पानी घट्ने समय पर्खनुपर्छ’, उनले भनिन्, ‘कि त खोलामा ज्यान बाजी लगाएर हेलिनु प-यो ।’ जेठदेखि भदौसम्म यस क्षेत्रमा आउने यातायातको साधन पूर्णरुपमा ठप्प हुने गर्दछ ।
यस अवधिको लागि आवश्यक खाद्यान्नलगायतको सामान पहिला नै जोहो गर्ने चलन छ । अत्यन्त कमजोर भूसतह रहेको चुरेका पहाडमा पछिल्ला केही वर्ष सडक विस्तार नभएका होइन । चुनावमा पहिलो सर्तको रुपमा सडक निर्माणलाई राख्ने र निर्वाचित भए लगतै चुरेमा डोजर कुदाएर नागरिकलाई सुविधाको नाममा विपद्मा पार्ने काम यहाँ पनि निरन्तर भइरहेको छ । यसरी जथाभावि खनिएको ट्रयाकका कारण चुरे पहाड क्षेत्विक्षत् हुने गरी पहिरो गएको स्थानीय बताउछन् ।
पूर्व पश्चिम लोकमार्गबाट केही किलोमिटरको दुरीमा रहेको उक्त गाउँमा पुग्दा कुनै अनकन्टार ठाउँमा पुगेको स्पष्ट अनुभव हुन्छ । यी गाउँ अझै सूचना प्रविधिको पहुँचबाट निकै टाढा छन् । केही ठाउँमा टेलिफोनको नेटवर्क आएपनि सजिलै कुरा गर्न सकिदैन भने अधिकांस स्थानमा नेटवर्क नै आउँदैन् । मोवाइलको टावर पनि राम्रो घामलागेको बेलामा मात्र आउने स्थानीयको गुनासो छ ।
लालबन्दी नगरपालिका–१४, तीन तलेका ६७ वर्षीय सञ्चरसिंह वाइबा भन्छन्, “यस ठाउँमा बसेको वर्षौं भयो । आफू जन्मेहुर्केको गाउँ ठाउँ चटक छाडेर हिड्न पनि सकिँदैन । विकासका आधारभूत पूर्वाधार नहुँदा जनजीवनमा सुधार आएन । अझै यस क्षेत्रमा विकासको घाम उदाएन ।” उनी २०२८ सालतिर यहाँ बसाई सरेर आाएका थिए । सडक नहुँदा वर्षातको समयमा समयमै उपचार नपाएरै केहीले ज्यान गुमाउनुपरेको वाइबा बताउँछन् ।
चुनावमा भोट दिएर जिताएका नेता त्यसपछि फर्किएर नआएको उनको गुनासो छ । यस दुई वडाको भौगोलिक विकटता, फोन, इन्टरनेटलगायतको प्रविधिको सुविधा नभएकाले वडा कार्यालय बजारबाटै सञ्चालन गरिएको छ । लालबन्दी नगरपालिका–१४, का वडाध्यक्ष छेनाम सिंह घिसिङले बताए । यस वडाका नागरिक सेवा लिन एक दिन हिडेर आइपुग्नु पर्ने बाध्यता छ ।
व्यवस्थित सडक नभएकै कारण यस क्षेत्रका नागरिकले वर्षौदेखि अन्य सुविधा पनि उपयोग गर्न नपाएको लालबन्दी नगरपालिका–१५ का वडाध्यक्ष गोरख बल बताउँछन् । बिजुली, पानी लगायतको सुविधा पटकपटक पु¥याए पनि सडक नभएक कारण दिगो हुन नसकेको उनको भनाइ छ । “बिग्रिएका संरचना बनाउन जानसमेत सडक छैन्” उनले भने, “स्थानीयले महिनौंसम्म बिजुली, खानेपानीलगायतको सुविधाबाट बन्चित हुनु परिरहेको छ ।”
स्थानीयवासीले लखन्देही र फुलजोर खोलाको डाडाँ भित्तामा रहेका टार खेतमा समयअनुसार मकै, धान, तोरी बेसारलगायत अन्नबाली उत्पादन गर्ने गरेका छन् । आकाशे पानीको भरमा गरिने खेती मौसम प्रतिकुल हुँदा भने उत्पादन नहुने किसानको गुनासो छ ।
विकटतासँगै वैदेशिक रोजगारीका लागि विदेसिने युवाका कारण पछिल्लो समय गाउँघर समेत रित्तिदै गएका कामीटारका शङ्खर बिश्वकर्माले बताए । “पहिला राम्रो खेती हुने देखेर हाम्रा बाबु बाजे यहाँ आइपुग्नु भएको हो । तर अहिले मानिसलाई पढाइलेखाइको ज्ञान भयो । सडक, बिजुली, पानी घर–घरमा आउनु पर्यो । त्यसैको खोजीमा अन्यत्र जाँदैछन् । अहिले गाउँ रित्तिने क्रममा छ ।”
लालबन्दीको नारायण खोला र परवानीपुर जस्तै हरिवन नगरपालिका–१ र २, बागमती नगरपालिका–१ र ११ का केही गाउँ चुरे पाखामै छन् । यी पाखाहरुसम्म खनिएका ट्रयाक प्रत्येक वर्ष पानी पर्न सुरु भए पनि हिड्नै नमिल्ने गरी बग्ने गरेका छन् । - सिंगबहादुर थापा