Sep 19 2024 | २०८१, असोज ३ गते

प्राप्त जिम्मेवारीलाई इमान्दारिताका साथ पुरा गर्ने मन्त्री द्वयको प्रतिबद्धता

प्राप्त जिम्मेवारीलाई इमान्दारिताका साथ पुरा गर्ने मन्त्री द्वयको प्रतिबद्धता

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ३१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ३१ २०८१
  • प्राप्त जिम्मेवारीलाई इमान्दारिताका साथ पुरा गर्ने मन्त्री द्वयको प्रतिबद्धता

    काठमाडौँ। बानेश्वर बहुमुखी क्याम्पसले आफ्ना दुई पूर्व विद्यार्थीहरू राज्यका उच्च ओहोदामा पुगेकोमा भदौ ३० गते बधाइ तथा शुभकामना कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको छ । बधाइ तथा शुभकामना कार्यक्रम बानेश्वर बहुमुखी क्याम्पस र क्याम्पसको पूर्व विद्यार्थी समाजको संयुक्त आयोजनामा क्याम्पसको सभाहलमा सम्पन्न भएको थियो ।

    images
    images

    बागमती प्रदेश सरकारको मन्त्रिपदमा रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने र भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केलाई जनताको सेवामा पु-याएको योगदान र उत्कृष्ट कार्यको कदर गर्दै सम्मान गरिएको हो । 

    कार्यक्रममा मन्त्रीद्वय लामिछाने र मास्केले इमान्दारिताका साथ देश र जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे । मन्त्री लामिछानेले आफ्नो भूमिका केवल कानुनको पालना गर्ने मात्र भएको नभई प्रत्येक नागरिकले प्रदेश सरकारको उपस्थिति र सहयोग अनुभव गर्न सक्ने वातावरण सुनिश्चित गराउनु समेत रहेको भएकाले आफूले त्यस तर्फ सक्दो काम गर्ने प्रतिवद्धता जनाए । उनले संघीय, प्रादेशिक, र स्थानीय तीनै तहका सरकारबीच समन्वयको आवश्यकतालाई पनि जोड दिए, जसले सुशासन र प्रभावकारी सेवा प्रवाहलाई सुनिश्चित गर्नेछ ।

    त्यस्तै, मन्त्री मास्केले जनताको आकांक्षालाई सम्बोधन गर्ने र उनीहरूको जीवनमा दीर्घकालीन प्रभाव पार्ने पूर्वाधार विकास परियोजनाको आवश्यकता औंल्याए । उनले सामूहिक कार्य, पारदर्शिता, र विश्वासलाई सबै विकास प्रयासहरूको मार्गदर्शक सिद्धान्त बनाउने कुरामा जोड दिए । मन्त्री मास्केले आफ्नो मन्त्रालयका परियोजनाहरू दीर्घकालीन लक्ष्यसँग मिल्नुपर्ने र कुशलतापूर्वक सम्पन्न हुनुपर्ने भएको हुँदा त्यस कुरामा दत्तचित्त भइ लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख प्रा. डा. घमानसिंह खड्काले संघ, प्रदेश, र स्थानीय सरकारबीचको समन्वयको आवश्यकतालाई औल्याउँदै जनताको वास्तविक आवश्यकताहरूलाई सम्बोधन गर्ने नीतिहरूको निर्माण गर्न सरकारलाई आग्रह गरे । उनले तीनै तहका सरकारहरूको सहकार्यले समाजमा सकारात्मक र दीर्घकालीन प्रभाव पार्ने नीति कार्यान्वयन गर्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

    क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिबोल भट्टराईले रोजगारमूलक शिक्षालाई प्राथमिकता दिने नीतिहरूको आवश्यकतामा जोड दिए । उनले नेपालको युवा शक्तिलाई सही सीप र अवसरले सशक्त बनाउन सकिने र यसरी देशमै रोजगारी सिर्जना गरी युवाहरूको पलायनलाई रोक्न सकिने बताए ।

    पूर्व विद्यार्थी समाजका अध्यक्ष लक्ष्मण लम्सालले मन्त्रीहरूको कार्यकुशलताको प्रशंसा गर्दै क्याम्पसको विकासमा निरन्तर उनीहरुको सहयोग र समर्थन रहने विश्वास रहेको कुरा बताए। उनले कडा मिहिनेत र समर्पणले हरेक व्यक्ति राष्ट्रिय प्रतिष्ठाको उचाइमा पुग्न सक्छ भन्ने कुराको उदाहरणका रूपमा मन्त्रीहरु रहेको धारणा व्यक्त गरे ।

    धन्यावाद मन्तव्यका क्रममा प्राध्यापक संघका सभापति रामेश्वर काफ्लेले क्याम्पसमा रहेका योग्य शैक्षिक जनशक्तिहरूको प्रशंसा गर्दै, यदि प्रदेश सरकारले क्याम्पसलाई अनुसन्धान र नीतिनिर्माणको जिम्मेवारी दिएमा क्याम्पसले त्यसलाई उत्कृष्ट ढंगले निर्वाह गरी प्रदेश सरकारलाई सफलतामा पु-याउन सहयोग गर्न पूर्ण रूपमा प्रतिवद्ध रहेको बताए ।

    कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरु, पूर्व क्याम्पस प्रमुखहरु, क्याम्पसका प्राध्यापक, कर्मचारी, पूर्व विद्यार्थी समाजका पदाधिकारी तथा सदस्यहरु, विद्यार्थीहरु तथा  अन्य शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार