images

Oct 23 2024 | २०८१, कात्तिक ७ गते

जनअपेक्षाअनुसार धेरै काम भएका छन्, भरपर्दो सेवा दिन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

जनअपेक्षाअनुसार धेरै काम भएका छन्, भरपर्दो सेवा दिन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक ६ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक ६ २०८१
  • जनअपेक्षाअनुसार धेरै काम भएका छन्, भरपर्दो सेवा दिन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले जनअपेक्षाअनुसार मन्त्रालयले द्रुतगतिमा काम गरिरहेको बताएका छन्। मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले मेलम्ची आयोजना सञ्चालनदेखि बाढी प्रभावित क्षेत्रको पुनःस्थापनासम्मका कार्यलाई विशेष ध्यान दिइएको बताए । 

    images
    images
    images

    मन्त्रालयले स्थलगत निरीक्षण र जनसंवादमार्फत योजनाको प्रभावकारिता सुनिश्चित गर्दै सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाइएको मन्त्री यादवको दाबी छ । उनले बडादसैँ अगाडि नै मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने आफ्नो अठोटअनुरूप मेलम्चीको पानी गत असोज २२ गतेदेखि पुनः सुन्दरीजल प्रशोधन केन्द्र हुँदै काठमाडौँ उपत्यकामा आपूर्ति गरिन थालिएको बताए ।

    “उपत्यकावासीलाई दैनिक १७ करोड लिटर पानी उपलब्ध गराउन थालिएको छ”, मन्त्री यादवले भने, “मेलम्ची आयोजनाको पुनःसञ्चालनमा मैले आफैँ मेलम्ची पुगेर स्थानीय जनप्रतिनिधि र सङ्घर्ष समितिका पदाधिकारीसँग छलफल गरेर पानी आपूर्तिमा सहयोग गर्न अनुरोध गरेको थिए ।” 

    मेलम्चीको खानेपानी काठमाडौँ आएसँगै यहाँको खानेपानी सङ्कट कम गर्न महत्त्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै मन्त्री यादवले आयोजनास्थलमा पुगेर जिम्मेवार अधिकारीहरूलाई प्रक्रिया छिटो पूरागरी काममा तीव्रता दिनसमेत निर्देशन दिएको बताए । 

    “स्थलगत अनुगमनका क्रममा मलाई जनताका समस्या प्रत्यक्ष बुझ्न र समाधान खोज्न मद्दत मिल्यो”, मन्त्री यादवले भने, “निरीक्षणका क्रममा स्थानीयहरूले सुझाव दिने अवसर पाएका थिए, जसले योजना अझ प्रभावकारी बनाउन सहयोग पुर्‍याएको छ ।”

    पानी आपूर्ति सुधारका लागि मन्त्रालयले काठमाडौँ उपत्यकामा एक हजार सात सय किलोमिटर नयाँ पाइपलाइन विस्तार गरेको मन्त्री यादवले जानकारी दिए । “स्वयम्भू, ताहाचल, बालुवाटार, मन्डिखाटार र चाबहिल क्षेत्रमा मात्रै सात सय किलोमिटर पाइप बिछ्याइएको छ । हामीले पानी अभावको समस्या चाँडै समाधान गर्ने अठोट गरेका छौँ”, मन्त्री यादवले भने । त्यसैगरी, कीर्तिपुर र महाँकालचौरमा ६० लाख र ८० लाख लिटर क्षमताका दुई ठूला ट्याङ्कीहरूको निर्माण सम्पन्न भई ती क्षेत्रमा नियमित आपूर्ति सुरु भइसकेको उनले जानकारी दिए ।

    मन्त्रालयले सरसफाइ सुधारमा पनि विशेष प्राथमिकता दिएको दाबी गर्दै मन्त्री यादवले असोज महिनामा गएको अविरल वर्षाका कारण धोवीघाट फोहर पानी प्रशोधन केन्द्र डुबानमा परेपछि केही उपकरण अवरुद्ध भएको जानकारी दिए । उनले तत्काल मर्मत थाल्न निर्देशन दिइएको र बिमा कम्पनीसँग छलफल गरी मर्मत कार्य अघि बढाउने तयारी भइरहेको बताए । उनले भने, “सरसफाइ व्यवस्थापनमा कुनै सम्झौता हुने छैन । हामीले तुरुन्त समाधानको बाटो खोजिरहेका छौँ ।” 

    मन्त्रालयले भेरी पम्पिङ आयोजनालाई गतिदिन चीनको झेजिङ टोलीसँग ठेक्का सम्झौतागरी निर्माण कार्य अघि बढाइसकेको मन्त्री यादवले जानकारी दिए । उनका अनुसार पोखरा खानेपानी सुधार आयोजनामा भने बाढीका कारण अवरोध सिर्जना भएको छ । मर्मत कार्य तीव्र गतिमा भइरहेको छ ।

    यस्तै मन्त्रालयले देशभरिका विभिन्न जिल्लामा २० वटा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सञ्चालनमा ल्याएको छ । पुराना योजना मर्मतदेखि नयाँ आयोजना निर्माणसम्मका काम समावेश छन् । मन्त्रालयले यी परियोजनालाई छिटो सम्पन्न गर्नका लागि अतिरिक्त बजेटको व्यवस्थापनका लागि प्रयास गरिरहेको मन्त्री यादवले बताए । 

    गत असोजमा आएको अविरल वर्षाले मुलुकका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले पाँच सय २५ वटा खानेपानी आयोजनामा क्षति पुर्‍याएको मन्त्री यादवले जानकारी दिए । मन्त्रालयले ती आयोजनाको मर्मत कार्यलाई प्राथमिकता दिँदै पुनःस्थापना प्रक्रिया सुरु गरिसकेको उनले बताए । उनले भने, “बाढी प्रभावित क्षेत्रमा अस्थायी पाइपलाइनमार्फत पानी आपूर्ति गरिएको छ भने क्लोरिन वितरण गरेर स्वच्छ पानी सुनिश्चितता गराइएको छ ।

    मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा पनि शीघ्र सुधारको काम थालेको छ । काभ्रेपलाञ्चोक र ललितपुरमा नयाँ पाइप बिछ्याउने र मर्मत कार्य तीव्र रूपमा अघि बढिरहेको छ । मन्त्री यादवले भने, “स्थानीय सरकारसँग सहकार्य गरी समस्या समाधान गर्न हामी पूर्ण प्रतिबद्ध छौँ ।” उनले दीर्घकालीन समाधानका लागि प्राविधिक अध्ययन अगाडि बढाएको र भविष्यमा यस्ता समस्या नदोहोरिने गरी पुनःस्थापना गर्ने योजनामा मन्त्रालय अघि बढेको जानकारी दिए ।

    मन्त्रालयले देशभरिका विभिन्न क्षेत्रमा आयोजना सञ्चालन गरी स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुर्‍याउँदै आएको मन्त्री यादवले बताए । उनले भने, “पोखरामा खानेपानी सुधार आयोजनामार्फत ४८ हजार पाँच सय जनसङ्ख्यालाई, विराटनगरमा ४५ हजार नौ सय ८७ जनसङ्ख्यालाई, र झापाको बेलडाँगीमा २३ हजार सात सय ४३ जनसङ्ख्यालाई स्वच्छ खानेपानी आपूर्ति गरिँदै छ । यस्तै, वीरगञ्जमा १४ वटा नयाँ खानेपानी आयोजनाको निर्माणकार्य सुरु भइसकेको छ ।”

    मन्त्री यादवको सय दिने कार्याकालमा देखिएको परिवर्तनले जनताको जीवनमा सकारात्मक प्रभाव पारेको र मन्त्रालयको कामलाई सजगता, पारदर्शिता र गतिका साथ अघि बढाएकाले  जनताले खुलेर प्रशंसा गरेको मन्त्री यादवले दाबी गरे । उनले भने, “मन्त्रालयको प्राथमिकता भनेको नागरिकलाई गुणस्तरीय र भरपर्दो सेवा दिने हो । हामी जनअपेक्षाअनुसार काम गरिरहेका छौँ ।” 

    जनतालाई भरपर्दो सेवा दिन निरन्तर लागिरहने प्रतिबद्धता जनाउँदै मन्त्री यादवले भने, “मुलुकका सबै नागरिकले स्वच्छ पानी पाउने सुनिश्चितता गर्न कुनै कसर बाँकी राख्दैनौँ । खानेपानी सुधारमा आएको यो परिवर्तन स्थायी बनाउनेछौँ ।”

    मन्त्री यादवले मन्त्रालयदेखि खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी संस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, मेलम्ची खानेपानी आयोजनाका कर्मचारी र प्रतिनिधिहरूसँगै सचिवालयले गरेको सहयोगप्रति आभार प्रकट गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको कार्यसम्पादन सम्झौताअनुरूप एक सय दिनभित्र गरिनुपर्ने कामहरूमध्ये अधिकांश गर्न सफल भएको बताए ।

    उक्त पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्यले मन्त्री यादवको सक्रिय अनुगमन र समन्वयले सेवा प्रभावकारी बनाएको एवं मन्त्रालयको कार्यसम्पादनमा गति आएको बताए । उनले मन्त्रालयले आधुनिक प्रविधिको प्रयोग र जनसमुदायसँगको संवादबाट नीतिहरूको प्रभावकारिता बढाएको जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट