वीरगञ्जमा छठपर्वलक्षित विशेष सुरक्षा योजना बनाइने
वीरगञ्जमा छठपर्वलक्षित विशेष सुरक्षा योजना बनाइने
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले छठपर्वमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष शान्ति सुरक्षा योजना बनाउने भएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला सुरक्षा समितिको बैठक बसेर छठपर्वका लागि आवश्यक सुरक्षा रणनीतिसहित योजना बनाइने बताए । “छठपर्वमा विशेष सुरक्षा प्रबन्ध मिलाउनेछौँ,’’ उनले भने, ‘‘विगतका छठपर्वका जोखिमका विषय के–के हुन्, ती विषयलाई सम्बोधन गर्ने गरी सुरक्षा योजना बनाएर अघि बढ्नेछौँ ।’’ प्रजिअ अर्यालले जिल्लाका सुरक्षा निकायसँगै नगरप्रहरीसँग पनि समन्वय गरेर अघि बढ्ने बताए ।
वीरगञ्ज महानगरभित्र घडीअर्वा पोखरी, रानीघाट छपकैयाको छठघाट, माईधिया पोखरी, नगवा पोखरी, सोलकपुर चोर्नी र परसवाको छठघाटमा विशेष सजावट र डेकोरेसन गरेर छठपर्व मनाइदँदैछ । वीरगञ्जमा सबैभन्दा धेरै दर्शनार्थी तथा अवलोकनकर्ता घडीअर्वा पोखरीमा आउने गर्छन् । त्यसैले घडीअर्वा पोखरीको सुरक्षा चुनौती प्रमुख हुने गर्छ ।
घडीअर्वा पोखरी छठपूजा व्यवस्थापन समिति अन्तर्गतको सुरक्षा उपसमितिका संयोजक मनोहर गुप्ताले घडीअर्वा पोखरीमा करिब एक लाख ५० हजार भन्दा धेरै अवलोकनकर्ता आउने भएकाले सुरक्षा चुनौती मुख्य रहने बताए ।
छठपर्व कात्तिक शुक्ल चतुर्थी अर्थात आजदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ । छठपूजा व्यवस्थापन समितिका सहसचिव प्रभाकर गुप्ताले घडीअर्वा पोखरीको शान्ति सुरक्षाको लागि २० थान सीसी क्यामेरा जडान गरिसकेको जानकारी दिए । ‘‘यहाँ विशेष गरी कात्तिक २२ गते अस्ताउँदो सूर्यलाई अर्घ्य दिने बेला र २३ गते उदाउँदो सूर्यलाई अर्घ्य दिने बेला निकै सावधानी अपनाउन आवश्यक देखिन्छ,’’ उनले भने।
छठघाट परिसरमा दमकल, एम्बुलेन्स, स्वास्थ्यकर्मी लगायतको टोली खटाइनेछ । प्रजिअ अर्यालले विगतका वर्षमा जस्तै यो वर्ष पनि पर्सा जिल्लामा छठपर्व शान्तिपूर्ण वातावरणमा मनाउने गरी आवश्यक तयारी भइरहेको बताए । सशस्त्र प्रहरी बल पर्साका प्रमुख राधेश्याम धिमालले घडीअर्वा पोखरीमा उद्धारसहितका टोली परिचालन गरिने बताए । जिल्ला प्रहरी प्रमुख कुमोध ढुङ्गेलले छठ पर्वका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध मिलाइने बताए ।