वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन् : प्रकाशशरण महत
वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन् : प्रकाशशरण महत
बागलुङ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारसँग जनताले विकास–निर्माणलगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेका बताएका छन् ।
नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले सरकारमा सहभागी राजनीतिक दलले जनता केन्द्रित काम गर्नुपर्नेमा जोड दिए । देशमा जति नयाँ पार्टी खुले पनि पुरानै पार्टीले मुलुक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनको भनाइ थियो ।
विसं २०४६ को परिवर्तनपछि देशमा विकास निर्माणका कार्यले गति लिएका बताउँदै पूर्वअर्थमन्त्री डा महतले नेपाली कांग्रेस आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा जानुपर्ने विचार व्यक्त गरे ।
“पार्टीको सुदृढीकरणका लागि सम्पूर्ण कार्यकर्ता एकताबद्ध हुनुपर्छ”, उनले भने । स्थानीय तहबाटै नेता तथा कार्यकर्ताबीच एकता हुनुपर्नेमा जोड दिँदै उनले व्यक्तिभन्दा माथि पार्टीलाई राख्नुपर्ने बताए ।