Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल

एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल

एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर ४ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर ४ २०८१
  • एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
    पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताएका छन् । 
     
    पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले औषधिमा फार्मेसी व्यवसायी र कम्पनीबाट भइरहेको मनोमानी अन्त्य गर्नका लागि मूल्य समायोजन गर्न थालिएको बताए । सरकारले मूल्य समायोजन गरेपछि सोही मूल्यसूचीका आधारमा मुलुकभर औषधि खरिद बिक्री हुने र बिरामी ठगिन नपर्ने उनले भनाइ छ । उनले औषधिको मूल्य समायोजनको कार्य अन्तिम चरणमा पुगेको बताए । 
     
    मन्त्री पौडेलले नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए । विपन्न र असहाय नागरिकले पनि सहज रुपमा सबैखाले स्वास्थ्य सुविधा उपभोग गर्न सकुन र उपचारको अभावमा कोही पनि अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्रको सुधारका काम भइरहेको उनको भनाइ छ । 
     
    मन्त्री पौडेलले तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको पालामा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई परिमार्जन गर्ने तयारी भइरहेको बताए । उनले तत्कालीन अवस्थामा रु एक लाखको स्वास्थ्य बीमा रहेकामा अब यसलाई बढाएर रु पाँच लाख पु-याउने योजना रहेको बताए । उनले यसका लागि रोजगारीमा आबद्ध कर्मचारीबाट मासिक तलबको दुई प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गर्ने व्यवस्था गरिनुपर्ने बताए । यसबाट पैसा नभएकाको पनि उपचार गर्न सहज हुने उनको भनाइ छ । 
     
    सरकारले उठाउने सबैखाले करमा पनि शून्य दशमलव पाँच प्रतिशत बीमा कोषमा जाने व्यवस्था गरिनुपर्ने भन्दै उनले अहिले उठ्ने स्वास्थ्य बीमा करलाई तेब्बर बनाउनुपर्ने बताए । 
     
    मन्त्री पौडेलले मुलुकभरीका १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउने व्यवस्था गरिएको जनाउँदै अहिले खोप भण्डारणको काम भइरहेको बताए । त्यस्तै १४ वर्ष मुनिका बालबालिकाको क्यान्सरको निःशुल्क उपचार गरिने जस्ता कार्यक्रमले धेरै लाभान्वित भएको बताए । 
     
    अर्को प्रसङ्गमा मन्त्री पौडेलले स्रोतको अभावका कारण स्वास्थ्य क्षेत्रलाई चाहेअनुरुप विकास गर्न नसकिएको बताए । उनले स्रोतको व्यवस्थापन गरेर स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र सर्वसुलभ बनाउँदै लजाने योजना समेत सुनाए । 
     
    सो अवसरमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले अस्पतालको सुधारका लागि आवश्यक विभिन्न कुरा समेटिएको मागपत्र पेस गरेका छन्। मन्त्री पौडेलले मागपत्र बुझ्दै पर्वत अस्पतालको विकास र गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । 

     

    images
    images
    images

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार