Dec 09 2024 | २०८१, मंसिर २४ गते

images

आलेखः धरहराबाट उपत्यका नियाल्ने रहर

आलेखः धरहराबाट उपत्यका नियाल्ने रहर

एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर १२ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर १२ २०८१
  • आलेखः धरहराबाट उपत्यका नियाल्ने रहर

    काठमाडौँ । काठमाडौँमा पढ्दै गरेकी छोरी भेट्न जुम्लाबाट आएका दर्शन सुनारको मनमा नयाँ बनेको धरहरा हेर्ने चाहना जाग्यो । उमेरले ७० वर्ष नाघिसकेका उनलाई कसैले धराहरा हेर्दा शिरको टोपी नै खस्ने अग्लो छ भन्ने सुनाएपछि नजिकबाट हेर्ने अभिलाषा लाग्नु स्वाभाविकै थियो । छोरीलाई साथमा लिएर उनी सुन्धारा पुग्दा नभन्दै जीवनमा कहिल्यै नदेखेको अग्लो घर देख्दा उनी आश्चर्यचकित बने । 

    images
    images
    images

    पहिलोपटक काठमाडौँ आएका उनलाई धरहराको माथि चढेर वरपर हेर्दा सपना देखेजस्तै लाग्यो । उनी भन्छन्, “आहो, काठमाडौँ सहर त जम्मै देखिने रहेछ । यहाँका घर त कति गुजुमुज्ज हो, तिलको गेडा राख्ने ठाउँ पनि रहेनछ । नजिकैको टुँडिखेल देखाउँदै अलिकति यहाँनेर घर बनाउन बाँकी रहेछ ।” गाउँ फर्केपछि अरूलाई धरहराको बखान गर्ने उनले बताए । धरहरा चढ्न बुबासँगै आएकी उनकी छोरी दीपकली सुनारको पनि धरहरा चढ्ने धोको पूरा भएको छ ।  

    विसं २०७२ को भूकम्पले धरहरा भत्काएसँगै दीपकलीलाई धरहरा चढ्ने इच्छा पनि त्यही भूकम्पले भत्काएको थियो । उनी भन्छिन्, “भूकम्पले धराहरा भत्काइहाल्यो भन्ने सुनेपछि अब त धराहरा चढ्ने इच्छा पनि पूरा भएन भन्ने लागेको थियो । यस्तो राम्रो नयाँ धरहरा बनिसकेछ । धन्न इच्छा चाहिँ पूरा भयो ।” उनले पनि धरहराको बारेमा सुनेकी र पढेकी रहेछिन् । धराहरा टेलिभिजनका समाचारबाट भिडियो देखेकी रहेछिन् । कतै किताबमा मात्रै चित्र देखेकी रहेछिन् । प्रत्यक्ष रुपमा धरहरा अवलोकन गरेर चढ्नै पाउँदा आज उनी धेरै हर्षित देखिन्थिइन् । उनी बुबाको धरहरा चढ्ने रहर पूरा भएकामा झनै खुसी छिन् ।  

    भर्खरै पुनर्निर्माण गरिएको धरहराको आकर्षणले हजारौँ मानिसलाई तानिरहेको छ । काठमाडौँको मध्यभागमा ठडिएको यो ऐतिहासिक धरोहर नजिकैको भीडले अझै धरहराको महत्वलाई झल्काउँछ । आधुनिकताको सङ्गम धरहरा अहिले पर्यटनको प्रमुख गन्तव्य बनेको पनि छ । धरहरा केवल एउटा भौतिक संरचना होइन, यो धेरै नेपालीको सपना हो । 

    सोलुखुम्बुबाट पहिलोपटक धरहरा चढ्न आएकी सीतामाया तामाङलाई पनि भूकम्पपछि डठिएको धरहराले मनमोहक तुल्याएको छ । “म पनि पहिलोपटक नै सोलुबाट धरहरा चढ्न काठमाडौँ आएको हुँ । भूकम्पले अब धरहरा चढ्न पाइँदैन कि भन्ने लागेको थियो, यस्तो राम्रो बनेछ,” उनले भनिन् ।

    दोलखा जिल्ला घर भई हाल भक्तपुर लोकन्थलीमा बस्दै आएकी पार्वती केसी पनि धरहरा चढ्नकै लागि बिहान खाना खाएपछि सुन्धारा आएकी थिइन् । “झन्डै तीन घण्टा लाइन बसेर बल्लबल्ल धरहरा चढ्नलाई टिकट पाएको छु । पैसै तिरेर पनि कति गाह्रो हो टिकट पाउन ?”, उनी भन्छिन्, “धरहरा भूकम्पले भत्काउनुअघि चाहिँ चढेको थिएँ । नयाँ बनेको धरहरा पनि कहिले चढ्न पाइएला भन्ने खुल्दुली थियो, आज पूरा भयो ।”

    गोरखा घर भई स्वयम्भू बस्ने तीर्थबहादुर थापा पैसा तिरेरै भए पनि चढ्न पाउँदा खुसी छन् । धरहरा चढ्नका लागि टिकट लिनेहरुको लाइनमा भेटिएका उनी  लामो लाइन देखेर चाहिँ आज पालो पो नपाउने हो कि भन्ने चिन्तामा थिए । आज पालो नपाइए अर्को दिन चाँडै आएर लाइन बसेरै धरहरा चडिछाड्ने उनले बताए । 

    धरहराबाट उपत्यका नियाल्ने चाहनाले आउनेहरु उनीहरु मात्रै होइन, नयाँ बनेको धरहरा हेर्न उत्सुक हुनेहरुको सङ्ख्या बाक्लै थियो । कतिले अझै पनि धरहरा चढ्न निःशुल्क भइदिए हुन्थ्यो भन्ने चाहेको पाइयो । धरहराको व्यवस्थापनका लागि पनि सधैँभर सबैलाई निःशुल्क धरहरा खुलाउन सम्भव नदेखिए पनि ज्येष्ठ नागरिक, अशक्त तथा निम्नवर्गका व्यक्तिहरुलाई भने निःशुल्क वा सहुलियत उपलब्ध गराउनुपर्ने सुझाव पनि भीडबाटै आएको थियो । 

    सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले धरहराको व्यवस्थापनका लागि पनि निःशुल्क खुला गर्न सम्भव नहुने भएपछि आइतबारदेखि धरहराको शुल्क लिन सुरु गरिएको बताए । “धरहराको व्यवस्थापन गर्नका लागि पनि केही शुल्क त लिनैपर्छ, विश्वका अन्य देशहरुमा पनि यस्ता ठाउँहरुको शुल्क लिने गरिन्छ,” उनले भने, “शुल्क लिए पनि धरहरा चढ्न आउनेको सङ्ख्या घटेको छैन ।”

    विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना प्रमुख प्रकाश अर्यालले गत सोमबार मात्रै करिब एक हजारको हाराहारीमा सर्वसाधारण धरहरा चढ्न आएको बताएका छन् । “शुल्क लिन थालेपछि टिकट काट्नुप¥यो, पहिलाको जस्तो सरासर पठाउन पाइएको त छैन तर सर्वसाधारणको सङ्ख्यामा कमी आएको छैन,” उनले भने, “हामीले नै व्यवस्थापन गर्न सक्यौँ भने अझै बढाउन सकिन्छ ।”

    तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले १८८८ सालमा महारानी त्रिपुरा सुन्दरीदेवीका लागि धरहरा निर्माण गरेको इतिहासमा उल्लेख छ । १९९० सालको भूकम्पले ११ तले धरहरा भत्काएको थियो । १९९० सालपछि पुनर्निर्माण गर्दा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले पहिलेको ११ तले धरहराको उचाइ घटाएर नौ तलाको बनाउन लगाएको इतिहास छ । २०७२ सालको भूकम्पले धराहरा पूर्ण रुपमा भत्काएको थियो भने अहिले झन्डै नौ वर्षपछि सञ्चालनमा आएको छ । 

    धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशतसम्म छुट

    सहरी विकास मन्त्रालयले विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई धरहरा चढ्न ५० प्रतिशत छुट दिइएको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो । आइतबारदेखि नै धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गरिएको छ । धरहरा चढ्नका लागि प्रतिव्यक्ति दुई सय रूपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालयले जनाएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिँदै शुल्क पनि नै स्वीकृत गरेको छ । मन्त्रालयले गरेको प्रस्तावअनुसार प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ । 

    यसैगरी, सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक अन्य राष्ट्रका नागरिकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क तोकिएको छ । त्यस्तै, धरहरामा पार्किङ गर्दा मन्त्रालयले चारपाङ्ग्रेका लागि प्रतिघण्टा रु २० र दुईपाङ्ग्रेलाई रु १० तोकेको छ । धरहरा परिसरमा प्रवेशका लागि भने रु ५० तोकिएको छ । त्यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ । त्यस्तै, धरहरा परिसरमा व्यावसायिक भिडियो छाङ्याङ्कन गर्न प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार तोकिएको छ । - प्रगति ढकाल

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट