रवि लामिछानेलाई काठमाडौं हुँदै वीरगञ्ज लैजाने प्रहरीको तयारी
रवि लामिछानेलाई काठमाडौं हुँदै वीरगञ्ज लैजाने प्रहरीको तयारी
काठमाडौँ । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले बयानका लागि वीरगञ्ज लैजाने भएको छ । कास्की प्रहरीको हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले आज काठमाडौं हुँदै वीरगञ्ज लैजान लागेको हो ।
लामिछानेविरुद्ध सहकारीको रकम ठगी प्रकरणमा पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । त्यसपछि प्रहरीले उनलाई पर्सा लैजान लागेको हो ।
यसअघि रविलाई प्रहरीले बुटवल, काठमाडौँ र चितवन पुर्याएर बयान लिइसकेको छ । लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र किर्तेलगायतका मुद्दामा अनुसन्धान गरिरहेको छ ।
२ कात्तिकमा काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेमाथि पोखरा, बुटवल, चितवन र काठमाडौंका चार सहकारीको बचत ठगी आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले लामिछानेसहित गोरखा मिडियाका तत्कालीन सञ्चालकहरू जीबी राई र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यो समितिलाई मानेरै रास्वपाले आफ्नो तर्फबाट सांसद शिशिर खनाललाई सदस्यका रूपमा सिफारिस गरेको थियो ।