पछिल्लो समय बैंकहरू कठिन परिस्थितिमा चलिरहेका छन् : गभर्नर अधिकारी
पछिल्लो समय बैंकहरू कठिन परिस्थितिमा चलिरहेका छन् : गभर्नर अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरू कठिन परिस्थितिमा चलिरहेका बताएका छन् । नेपाल बैंकर्स सङ्घको साधारणसभालाई आज सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकहरूले ऋणीहरूसँग ऋणको सावाँ–ब्याज उठाउन नसक्दा समस्यामा परेका उल्लेख गरे ।
गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा वित्तीय कारोबारको काम गर्दा प्रशस्त चुनौतीहरू रहेको बताए । उनले राष्ट्र बैंकको नीति वित्तीय स्थायित्व र आर्थिक वृद्धि गर्न सघाउने खालका रहेको पनि दाबी गरे।
गर्भनर अधिकारीले बैंकिङ क्षेत्रप्रति राष्ट्र बैंकले गौरव गर्ने भन्दै नेपालको बैंकिङ अभ्यास पारदर्शी रहेको उल्लेख गरे । उनले बैंकहरूमा पछिल्लो समय पूँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढेको बताए ।
गभर्नर अधिकारीले राष्ट्र बैंकको प्रोभिजनिङको व्यवस्थाले बैंकहरूलाई बलियो बनाउँदै बैंकलाई बचाउन मद्दत गर्ने उल्लेख गरे । उनले बैंकको लाभांश क्षमता राष्ट्र बैंकको कारणले नभएर बैंकको आफ्नै कारणले दिन नसकेको बताए ।
अधिकारीले ऋण नतिरे पनि हुन्छ भन्ने हल्लाका कारण तल्लो तहका बैंकका शाखाहरूबाट काम हुन नसकेको पनि उल्लेख गरे।