एमालेप्रति लक्षित गर्दै प्रचण्डले भने - माओवादी नेतृत्वलाई सिध्याउने समय यहि हो भनेर केहि राजनीतिज्ञ लागेका छन्
एमालेप्रति लक्षित गर्दै प्रचण्डले भने - माओवादी नेतृत्वलाई सिध्याउने समय यहि हो भनेर केहि राजनीतिज्ञ लागेका छन्
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले नै टुंग्याउन कठिन भएको बताएका छन् । बुधबार 'शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल' कार्यक्रममा उनले आफू शान्ति प्रक्रिया र १२ बुँदे सहमतिका आधारमा समझदारीबाटै टुंग्याउनुपर्ने पक्षमा रहेको बताए ।
“टुंग्याउन कठिन भएको राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही छैन,” उनले भने । उनले नेकपा (एमाले)प्रति लक्षित गर्दै माओवादी सिध्याएर मात्रै टुंग्याउने सोच र प्रवृत्ति रहेको बताए । “माओवादी सिध्याएर मात्रै के गर्नुपर्छ गरौँला भन्ने राजनीतिक सोच र प्रवृत्तिका मान्छे पनि छन् । यो कुरा आवेग पनि होइन, सेन्टिमेन्ट पनि होइन । राजनीतिक नेतृत्व र प्रवृत्ति त्यस्तो छ । टुंगिन लागेका बेला गएर रोक्छ,” प्रचण्डले भने ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ सदनबाट पारित भएपछि टुंगिने विश्वास गरिए पनि त्यसो हुन नसकेको उनको भनाइ छ ।
“माओवादी नेतृत्वलाई तह लगाउन, ठिक गर्न र सिध्याउने अन्तिम हतियार यही हो । टुंग्याउनु हुन्न भन्ने प्रवृत्ति छ,” उनले भने ।
पीडितले पनि सडकबाट राज्य र नेतृत्वलाई दबाब नदिए अर्को १८ वर्षमा पनि नटुंगिने खतरा रहेको उनले बताए । शान्तिपूर्ण ढंगबाट राजनीतिक नेतृत्वलाई दबाब दिए छिट्टै टुंगोमा पुग्ने उनको विश्वास छ ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग टीआरसीलाई अघि बढाउन दबाब दिन छिट्टै भेट्ने समेत बताए । कार्यक्रम सशस्त्र युद्धमा बेपत्ता पारिएका राजेन्द्र ढकालको परिवारले आयोजना गरेको हो ।