स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान काठमाडौँ अदालतमा सकियो
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान काठमाडौँ अदालतमा सकियो
काठमाडौँ । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षको काठमाडौँ जिल्ला अदालतमा बयान सकिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भएको लामिछानेको बयान दिउँसो सकिएको हो ।
अब उनको थुनछेक बहस सुरू हुनेछ । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा अदालत खुल्नु अगावै नै बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत पुगेका लामिछानेले बयान दिन शुरू गरेका थिए । अदालतले कास्की जिल्ला अदालतझैँ धरौटी मागेमा उनी छुटने छन् भने नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने जनाइएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर पोखराबाट छुटेका थिए । त्यहाँबाट छुटे पनि शुक्रबार जिल्ला अदालत, काठमाडौँमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी हाजिर हुन सकेका भने थिएनन् । जिल्ला प्रहरी कास्कीको हिरासतवाट मुक्त भए पनि शुक्रबार राति मात्रै काठमाडौँ आइपुगेका कारण उनी शुक्रबार अदालतमा हाजिर हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले जानकारी दिएकी थिइन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि उनी दालतमा हाजिर भएका थिए ।
उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
उनीमाथि यसअघि रुपन्देही, चितवन र पर्साको सहकारीमा पनि ठगी गरेको आरोपमा सरकारी वकिलको कार्यालयमा बयान भइसकेको छ ।