आयोगलाई दिएको ओलीको बयानका अंश सार्वजनिक, बस्नेतले गरे फेसबुकमार्फत खुलासा
आयोगलाई दिएको ओलीको बयानका अंश सार्वजनिक, बस्नेतले गरे फेसबुकमार्फत खुलासा
काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले भदौ २३ र २४ गतेको घटनाबारे अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ गर्न गठित आयोगलाई दिएको लिखित बयानका केही अंश सार्वजनिक गरेका छन्। आइतबार ओलीसँग बयान लिन आयोगको टोली गुण्डुस्थित उनकै निवास पुगेको थियो।
उक्त टोलीलाई ओलीले दिएका बयानका केही अंश भन्दै मंगलबार पार्टी सचिव महेश बस्नेतले फेसबुकमा सार्वजनिक गरेका हुन्। ओलीले दिएको जबाफका मुख्य बुँदाहरू भन्दै उनले ६ बुँदा सार्वजनिक गरेका हुन्।
पहिलो बुँदा, भदौ २२ गते बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको।
दोस्रो, आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेको,
तेस्रो, आन्दोलन गर्ने अधिकांश व्यक्ति जेन–जी पुस्ताका नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले प्रस्ट देखाएको,
चौथो, २३ भदौमा तोडफोड र एक्कासि गोली प्रहार सुरू भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय भएको'
पाँचौं, २४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्न चाहिएको भए पनि त्यो सम्भव हुन नसकेको,
छैठौं, गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघि–पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा आशंका रहेको, भन्दै ओलीले बयान दिएको बस्नेतको पोष्टमा उल्लेख छ।
