उग्रतारा मेला ‘देहिजाँत’ आजदेखि सुरु, हजारौँ श्रद्धालु जुट्ने अनुमान
उग्रतारा मेला ‘देहिजाँत’ आजदेखि सुरु, हजारौँ श्रद्धालु जुट्ने अनुमान
रतेडी आज राति, दिउसेडी भोलि मंगलबार
डडेलधुरा, ७ मंसिर। सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा लाग्ने उग्रतारा मेला (देहिजाँत) आजदेखि सुरु भएको छ। उग्रतारा क्षेत्र विकास समितिका अनुसार आज मंसिर ७ गते राति ‘रतेडी’ मेला लाग्नेछ भने ८ गते मंगलबार दिउँसो ‘दिउसेडी’ मेला लाग्नेछ।
यो मेला हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र त्यसको अर्को दिन लाग्ने गर्छ। राति लाग्ने मेलालाई रतेडी र दिउँसो लाग्ने मेलालाई दिउसेडी भनिन्छ।
मन्दिरसँग छचोडा, खनमडा, दुमडा र जिलोडा गाउँका भण्डार (भ्राण) जोडिएका छन्। रतेडी मेलापछि बिहान चारै गाउँबाट ‘देउरो’ आइपुगेपछि दिउसेडी मेला सुरु हुने परम्परा छ।
उग्रतारा भगवतीको मन्दिर डडेलधुरा सदरमुकामबाट करिब ४ किलोमिटर टाढा, अमरगढी नगरपालिका–८ को डाँडामा रहेको छ। देहिजाँतका रूपमा चिनिने यो मेलामा हरेक वर्ष हजारौँ दर्शनार्थी पूजाआराधना गर्न पुग्छन्। सुदूरपश्चिम प्रदेश र कर्णालीका साथै छिमेकी देश भारतबाट समेत श्रद्धालु आउने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए।
किंवदन्तीअनुसार करिब २ हजार ५ सय वर्षअघि हालको अमरगढी नगरपालिका क्षेत्रको लटाउलीमा बस्ने साँकी समुदायका स्थानीयले हलो जोत्दै गर्दा हलोको फालीले चोट लागेर रगत बग्यो। त्यसपछि देवी प्रकट भई दर्शन दिएको विश्वास गरिन्छ। त्यसै दिनदेखि महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको पूजा गर्ने परम्परा चलिआएको हो।
उग्रतारा माताको दर्शन गरे दैवी प्रकोप नलाग्ने, सुख प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ।
