Aug 12 2026 | २०८३, साउन २७ गते

आगामी निर्वाचन लक्षित गरी जनसंगठन सक्रिय जनमत निर्माणमा अग्रपङ्क्तिमा उभिन शंकर पोखरेलको निर्देशन

आगामी निर्वाचन लक्षित गरी जनसंगठन सक्रिय जनमत निर्माणमा अग्रपङ्क्तिमा उभिन शंकर पोखरेलको निर्देशन

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २५ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २५ २०८२
  • आगामी निर्वाचन लक्षित गरी जनसंगठन सक्रिय जनमत निर्माणमा अग्रपङ्क्तिमा उभिन शंकर पोखरेलको निर्देशन

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको पक्षमा व्यापक जनमत सिर्जना गर्न जनसंगठनहरूलाई निर्देशन दिएका छन् ।

    images


    पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार सम्पन्न जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसंगठनहरू निर्वाचन अभियानको अग्रपङ्क्तिमा उभिनुपर्ने आवश्यकता औँल्याएका हुन् ।

    महासचिव पोखरेलले फागुन २१ को निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र नभई वर्गसंघर्षको लडाइँ भएको उल्लेख गर्दै पार्टीको नीति, विचार र उपलब्धिलाई जनतामाझ प्रभावकारी ढङ्गले पुर्‍याउने जिम्मेवारी जनसंगठनकै काँधमा रहेको स्मरण गराए । 


    केन्द्रबाट तय गरिएका योजनाहरू स्थानीय तहसम्म कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिँदै पोखरेलले निर्वाचन केन्द्रित बैठक, अभियान र संवादलाई तीव्र बनाउन आग्रह समेत गरे ।


    एमालेले सामाजिक सञ्जालको प्रभावकारी परिचालनमार्फत पार्टीको पक्षमा जनमत निर्माण गर्नुपर्नेमा विशेष जोड दिँदै आएको छ । पार्टीको सर्कुलरअनुसार सबै जनसंगठनहरू परिचालित भई युवासहित विभिन्न वर्ग, समुदाय र पेसागत समूहमा पार्टीको सन्देश सशक्त रूपमा पुर्‍याउनुपर्ने महासचिव पोखरेलको भनाइ छ ।

    बैठकमा महासचिव पोखरेलले भदौ २३ र २४ गते भएका घटनाहरू स्वतःस्फूर्त नभई योजनाबद्ध रहेको दाबी गर्दै ती घटनामा संलग्नहरूको फुटेज सार्वजनिक भइसकेकाले त्यस विषयलाई लिएर जनतामाझ जानुपर्ने आवश्यकता औँल्याए । 

    ‘ती घटनामा आन्दोलनका स्टेकहोल्डर टीओबी, फ्री तिब्बत मुभमेन्ट तथा बारबरा फाउन्डेसनसम्मको संलग्नताका कुरा बाहिर आएका छन् । घटना आकस्मिक वा क्षणिक नभई लामो तयारीका साथ घटाइएको थियो, यो कुरा जनतालाई बुझाउन जरुरी छ’, महासचिव पोखरेलको भनाइ छ । 

    बैठकमा पार्टी सचिव एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जनसङ्गठनलाई थप सक्रिय, अनुशासित र परिणाममुखी रूपमा परिचालन हुन निर्देशन दिए । आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न जनसंगठनले जनतासँग प्रत्यक्ष सम्पर्क, संवाद र अभियानलाई प्राथमिकतामा राख्नुपर्ने ढकालको भनाइ थियो । 

    बैठकले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै पार्टीको पक्षमा व्यापक जनमत सिर्जना गर्ने लक्ष्यसहित जनसंगठनको भूमिकालाई अझ सशक्त बनाउने निष्कर्ष निकालेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट