राष्ट्रिय परिचयपत्र अब नागरिकले आफैं डाउनलोड गर्न सकिने, विभागले सुरू गर्यो परीक्षण सेवा
राष्ट्रिय परिचयपत्र अब नागरिकले आफैं डाउनलोड गर्न सकिने, विभागले सुरू गर्यो परीक्षण सेवा
काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा सुरू गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा उक्त सेवा सुरू गरेको हो ।
विभागको राष्ट्रिय परिचयपत्रसम्बन्धी वेबसाइटमार्फत व्यक्तिको फोटो र अनलाइन प्रमाणीकरण (भेरिफिकेसन) क्युआर कोडसहितको परिचयपत्र कार्ड डाउनलोड गर्न सकिनेछ । सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नं. २ मा 'विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्यूआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्ने प्रणाली निर्माण गर्ने' भन्ने उल्लेख थियो ।
राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका नागरिकले आफ्नो नाम (नेपाली वा अंग्रेजी), जन्ममिति र नागरिकता जारी मिति प्रविष्ट गरी कार्ड डाउनलोड गर्न सक्ने विभागले जनाएको छ ।
हाल कुनै पनि सार्वजनिक निकाय वा संस्थाले विभागको प्रणालीबाट प्रिन्ट गरिएको फोटोसहितको राष्ट्रिय परिचय नम्बरको निस्सा हेरी सेवा प्रवाह गर्ने गरेकोमा, अब उप्रान्त सोही कार्डमा रहेको क्यूआर कोड स्क्यान गर्दा देखिने विवरण र नागरिकले पेस गर्ने निस्साका विवरण रुजु गरेर मात्र सेवा प्रवाह गर्न विभागले सम्बन्धित निकायहरूलाई अनुरोध गरेको छ ।
