Aug 11 2026 | २०८३, साउन २६ गते

NRNA को ११५औँ ICC बैठक सम्पन्न, क्षेत्रीय सम्मेलन र संगठनात्मक एकीकरणमा महत्त्वपूर्ण निर्णय

NRNA को ११५औँ ICC बैठक सम्पन्न, क्षेत्रीय सम्मेलन र संगठनात्मक एकीकरणमा महत्त्वपूर्ण निर्णय

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार ५ २०८३
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार ५ २०८३
  • NRNA को ११५औँ ICC बैठक सम्पन्न, क्षेत्रीय सम्मेलन र संगठनात्मक एकीकरणमा महत्त्वपूर्ण निर्णय

    काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) बैठक गत १३–१४ जुन २०२६ मा भर्चुअल माध्यमबाट सफलतापूर्वक सम्पन्न भएको छ । अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षता र महासचिव डा. चिरञ्जीवी खड्काको सञ्चालनमा भएको उक्त बैठकको पहिलो दिन विगत तीन महिनाको संस्थागत, आर्थिक र विभागीय प्रगति समीक्षा गरिएको थियो । यस पटक पहिलो पटक ICC बैठकको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण (लाइभ) समेत गरिएको थियो ।

    images

    बैठक हुनुभन्दा दुई हप्ता अगाडि नै सचिवालयले एजेन्डा तथा सम्भावित प्रस्तावहरू तयार गरी प्रस्तुत गरेको थियो । ती प्रस्तावलाई पहिले युरोप, अमेरिकाज, मध्यपूर्व र एशिया–प्यासिफिक गरी चार क्षेत्रीय बैठकहरूमा छलफल गरिएको थियो । त्यसपछि ICC का उपाध्यक्षहरू (VPs), संगठन (Organization) र सचिवालय टोलीबीच संयुक्त बैठक बसी सुझाव तथा प्रतिक्रिया समेटिएको थियो । अन्त्यमा Organizing Body (OB) बैठकले सबै छलफलका निष्कर्ष समेटी अन्तिम एजेन्डा ICC समक्ष औपचारिक रूपमा प्रस्तुत गरेको थियो । बैठकको दोस्रो दिन विभिन्न विषयमा विस्तृत छलफल पश्चात निम्न निर्णयहरू गरिएका छन्:

    १. क्षेत्रीय तथा विश्व सम्मेलनहरू

    १७औँ युरोप क्षेत्रीय सम्मेलन: आगामी १०–११ अगस्टमा डब्लिन, आयरल्यान्डमा "United by Identity, Driven by Investment, Committed to Prosperity" भन्ने विषयमा आयोजना हुनेछ ।

    ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन: १५–१६ अगस्टमा ग्वाङ्झाउ, चीनमा "Rising Together, Leading Forward" भन्ने विषयमा हुनेछ ।

    मध्यपूर्व क्षेत्रीय सम्मेलन नोभेम्बर २०२६ मा, ओसियाना क्षेत्रीय सम्मेलन डिसेम्बर २०२६ मा न्युजिल्यान्डमा, र अमेरिका क्षेत्रीय सम्मेलन मार्च–अप्रिल २०२७ मा क्यानडामा हुने प्रारम्भिक योजना स्वीकृत भएको छ ।

    सन् २०२७ जनवरीभित्र चौथो एनआरएन विश्व ज्ञान सम्मेलन, पहिलो एनआरएन विश्व महिला सम्मेलन र दोस्रो पुस्ता युवा सम्मेलन आयोजना गर्ने जानकारी समेत गराइएको छ ।

    २. विभागीय कार्यविधि तथा समितिहरू

    विभिन्न विभागहरूले प्रस्ताव गरेका कार्य सन्दर्भ (TOR) तथा समितिहरूको गठन र सदस्यता बैठकले स्वीकृत गरेको छ ।

    ३. आर्थिक व्यवस्थापन तथा सुशासन

    गत मार्च १४–१६, २०२६ मा काठमाडौंमा सम्पन्न १२औं एनआरएन विश्व सम्मेलन र NRNA आईजीए कार्यक्रमको आय–व्यय विवरण अनुमोदन गरिएको छ ।

    आर्थिक वर्ष २०८३/८४ का लागि रु. ५ करोड ३७ लाख ६३ हजार ६६८ बराबरको सचिवालय बजेट योजना स्वीकृत भएको छ ।

    ICC पदाधिकारी र सदस्यहरूलाई लेभी तथा मनोनयन शुल्क बुझाउन थप दुई हप्ताको समय दिइनेछ; तोकिएको थप समयमा पनि शुल्क नबुझाउनेलाई आधिकारिक वेबसाइटबाट हटाउने निर्णय गरिएको छ ।

    शुल्क नबुझाउने NCC हरूलाई विधानअनुसार प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ ।

    • कोषाध्यक्ष र वित्तीय टोलीलाई प्रत्येक त्रैमासिकमा वित्तीय प्रतिवेदन समीक्षा गरी आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गर्ने अधिकार प्रदान गरिएको छ ।

    संस्थाको एकताका लागि उम्मेदवारी फिर्ता लिएका वा विशेष परिस्थितिले उम्मेदवारी स्वीकृत हुन नसकेका र शुल्क फिर्ताका लागि निवेदन दिएकाहरूको मनोनयन शुल्क फिर्ता गर्ने निर्णय गरिएको छ ।

    ५. संगठनात्मक एकीकरण तथा राष्ट्रिय समन्वय परिषद् (NCC) पुनर्गठन

    • नेदरल्याण्ड्स र डेनमार्कमा दोहोरो समूहमा रहेका NCC हरूको एकीकरण अनुमोदन गरिएको छ ।
    • बाँकी सदस्यता शुल्क बुझाउने सर्तमा कतार, फ्रान्स, बेल्जियम, माल्टा, मलेसिया र थाइल्याण्डका दोहोरो NCC हरूको एकीकरण पनि अनुमोदन गरिएको छ ।
    • अस्ट्रिया, पोर्चुगल, अमेरिका, युएई, कुवेत र दक्षिण कोरियाका NCC हरूलाई ३१ जुलाई २०२३ सम्ममा एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ । यस प्रक्रियाको समन्वय जिम्मेवारी यसरी तोकिएको छ:
    • उपाध्यक्ष रोशन थापा — अमेरिका
    • उपमहासचिव दिनेश घिमिरे — पोर्चुगल
    • उपमहासचिव अनुजा प्रधान — अस्ट्रिया
    • उपमहासचिव राजेन्द्र अर्याल — कुवेत
    • उपमहासचिव पारसमणि पोखरेल — दक्षिण कोरिया
    • उपमहासचिव मोहम्मद मुक्तदा मुसलमान — युएई

    रोमानिया, बुल्गेरिया, स्लोभाकिया, ग्रीस र फिनल्याण्डमा NCC लाई पुनः सक्रिय बनाउने र क्रोएसिया, सर्बिया, लाओस र भियतनामजस्ता नयाँ ठाउँमा NCC स्थापना गर्ने प्रक्रिया अगाडि बढाउन सम्बन्धित क्षेत्रीय संयोजक (RC) र/वा IES सदस्यहरूलाई पूर्ण अधिकार प्रत्यायोजन गरिएको छ ।

    ६. रिक्त पदहरूका लागि छनोट मापदण्ड

    रिक्त रहेका IES, पदाधिकारी (OB), ICC सदस्य, सल्लाहकार र मानार्थ परिषद्का पदहरूको नियुक्तिका लागि तय गरिएको छनोट मापदण्ड सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ । विश्वभर रहेका नेपाली मूलका महिला, युवा, दोस्रो पुस्ता र विज्ञहरूको करिब ७० प्रतिशत सहभागिता ICC संरचनामा सुनिश्चित गर्ने निर्णय गरिएको छ । मनोनीत व्यक्तिको मनोनयन वैध हुनका लागि निम्न पुष्टि अनिवार्य हुनेछ:

    • कुनै वित्तीय अनियमितता वा कानूनी मुद्दा नभएको
    • कुनै बाँकी लेभी दायित्व नभएको
    • ICC वा NCC प्रति कुनै बाँकी वित्तीय दायित्व नभएको

    ७. रिक्त IES, पदाधिकारी मनोनयन

    NCC एकीकरणको समर्थनमा आफ्नो पद त्यागेका NCC अध्यक्षहरूलाई उपयुक्त ICC IES वा पदाधिकारी पदहरूमा मनोनयन गर्ने प्रस्ताव अनुमोदन गरिएको छ । विशेष परिस्थितिका कारण १२औँ महाधिवेशनमा मनोनयन अनुमोदन हुन नसकेका उम्मेदवारहरूलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ । बाँकी रिक्त IES र पदाधिकारी पदहरू अन्तिम रूप दिन विधानबमोजिम अध्यक्षलाई अधिकार प्रदान गरिएको छ; अध्यक्षले महासचिवलगायत पदाधिकारीसँग परामर्श गरी एक हप्ताभित्र नामावली टुंगो लगाउनेछन् ।

    ८. ICC सदस्यहरूको मनोनयन

    निर्वाचित भएर पनि पदमा निरन्तरता दिन नचाहने, तोकिएको ICC लेभी नबुझाउने वा शपथ लिन अस्वीकार गर्ने ICC सदस्यहरूले विधानबमोजिम आफ्नो पद स्वतः त्याग गरेको (Withdrawn) मानिने र त्यसरी रिक्त हुन आउने पदहरू उपयुक्त मनोनयन प्रक्रियामार्फत पूर्ति गर्ने निर्णय गरिएको छ ।

    ९. संरक्षक परिषद् (Patrons Council) नियुक्ति

    निम्न व्यक्तिहरूलाई संरक्षक परिषद्मा नियुक्त गर्ने निर्णय गरिएको छ:

    • संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो
    • पूर्व अध्यक्ष जीवा लामिछाने
    • निवर्तमान अध्यक्ष डा. बद्री केसी
    • निवर्तमान अध्यक्ष महेश श्रेष्ठ
    • संस्थापक महासचिव भीम उदास
    • १०. सल्लाहकार समिति मनोनयन

      बाह्रौँ महाधिवेशन आयोजनाका लागि गठित स्टेरिङ समितिका सदस्यहरू र बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका समाजिक मानवशास्त्री प्राध्यापक डेविड गेल्नरलाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरिएको छ । विधान व्याख्या समितिमा पूर्व सल्लाहकार तथा कोषाध्यक्ष हिक्मत थापालाई संयोजक र अनुशासन समितिमा पूर्व महासचिव रतन झालाई संयोजक मनोनयन गरिएको छ । बाँकी सल्लाहकार, मानार्थ परिषद् सदस्य, विधान व्याख्या समिति र अनुशासन समितिका सदस्यहरूको नाम टुंग्याउने अधिकार अध्यक्ष र महासचिवलाई दिने निर्णय गरिएको छ ।

      ११. निर्वाचन प्रणालीका लागि प्राविधिक समिति

      निर्वाचन प्रणालीलाई सुदृढ र प्रभावकारी बनाउन अध्यक्ष डा. हेमराज शर्मा र महासचिव डा. चिरञ्जीवी खड्कासमेत रहेको ७ सदस्यीय प्राविधिक समिति (Technical Committee) गठन गर्ने निर्णय गरिएको छ । उक्त समितिले ४५ दिनभित्र प्रतिवेदन बुझाउनेछ ।

      १२. NRNA फाउन्डेसन

      पूर्व प्रमुख संरक्षक रामप्रताप थापाको संयोजनमा रहेको NRNA फाउन्डेसनमा अध्यक्ष डा. हेमराज शर्मा, परोपकार विभाग प्रमुख उपाध्यक्ष रामशरण सिम्खडा र कोषाध्यक्ष कृष्ण तिमल्सिनालाई प्रतिनिधिको रूपमा सिफारिस गर्ने निर्णय गरिएको छ । फाउन्डेसनलाई नेदरल्याण्ड्सबाट अन्तर्राष्ट्रिय रूपमा दर्ता गरी थप सुदृढ बनाउन पूर्व कोषाध्यक्ष तथा प्रवक्ता फणिन्द्र पन्त र पूर्व सल्लाहकार शशी पौडेललाई जिम्मेवारी दिने अनुरोध गरिएको छ ।

      १३. अन्तरसंस्थागत सहकार्य

      अन्तर्राष्ट्रिय फेडरेशन अफ रेडक्रस, चेम्बर अफ कमर्स, ललितपुर उद्योग बाणिज्य संघ र वी विल राइज फाउन्डेसन (We Will Rise Foundation) सँग भएको सम्झौता स्वीकृत गरिएको छ । साथै नेपाल ओलम्पिक कमिटीलगायतका संस्थासँगको सम्झौता पुनरावलोकन प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरिएको छ ।

      यी सबै निर्णयको जानकारी NRNA का प्रवक्ता सोमनाथ सापकोटाले दिएका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट