"चारैतिर असुलीको धन्दा मात्र" लालबाबु राउतको तीखो प्रहार बालेन सरकारमाथि
"चारैतिर असुलीको धन्दा मात्र" लालबाबु राउतको तीखो प्रहार बालेन सरकारमाथि
"विगतको सरकारभन्दा अहिलेको सरकारमा तपाईंले के फरक पाउनुभयो?"
काठमाडौं। एकातिर संघीयता, गणतन्त्र र समावेशी लोकतन्त्रको जगमा उभिएको मुलुक, अर्कोतिर त्यही जगलाई कमजोर बनाउने प्रयासको आरोप मधेस प्रदेशका पहिलो मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री बालेन्द्र शाहको सरकारमाथि यस्तै गम्भीर आरोप लगाएका छन्। रातोपातीसँगको कुराकानीमा उनले हालको सरकार र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालाको सरकारबीच व्यावहारिक रूपमा कुनै अन्तर नरहेको ठाडै भनेका छन्।
राउतको आरोपको सुरुवात नै तीखो छ। उनका अनुसार मुलुकमा अहिले कुनै पनि वर्ग यस्तो छैन जुन वर्तमान सरकारबाट पीडित नभएको होस्। किसानदेखि विद्यार्थीसम्म, सुकुमबासीदेखि सर्वसाधारणसम्म सबैले सरकारको मारमा परेको भन्दै उनले सिमानाक्षेत्रको उदाहरण अघि सारे, जहाँ सुरक्षाकर्मीले भारतबाट सामान्य मलखाद वा दैनिक उपभोग्य सामान ल्याउने किसानहरूलाई नै पक्राउ गर्ने गरेको उनको भनाइ छ। यसैगरी बिजुली महसुल ५ प्रतिशतले बढेको, स्कुल-कलेजको शुल्क र अस्पतालको उपचार खर्च बढेको उल्लेख गर्दै उनले सरकारलाई "चारैतिर असुलीकै धन्दामा लागेको" भनी टिप्पणी गरे।
चुनावी वाचा र यथार्थबीचको दूरीलाई औंल्याउँदै राउतले भने, सत्तामा पुग्नुअघि "गल्ली-गल्लीमा रोजगारी दिन्छु" भन्ने प्रतिबद्धता जनाइएको सरकारकै पालामा युवा पलायन झन् बढेको छ। उनले रोचक तथ्य पनि जोडे सत्तापक्षकै सांसद मनिष झाले संसदमै यो प्रश्न उठाइसकेका छन् कि किन विदेशबाट महँगा ब्लु लेबल र ल्यापटप ल्याउन पाइने तर सिमानापारिबाट सामान्य चिप्स मात्र किन्न आउने सर्वसाधारणलाई रोक लगाइन्छ। "यसैबाट थाहा हुन्छ, यो सरकारबाट को को सन्तुष्ट छन्," राउतले भने। यही आधारमा उनले आफ्नो निष्कर्ष सुनाए "पहिले जे बेथिति थियो, त्यही बेथितिकै काम अहिलेको सरकारले पनि गर्दैछ। केपी ओली र बालेनको सरकारमा केही फरक देखिएन।"
तर राउतको आलोचना सरकारमा मात्र सीमित रहेन। जसपा नेपाल लगायत मधेसकेन्द्रित दलहरू मिलेर बनेको "अग्रगामी मोर्चा"को औचित्यबारे उनले भने, यस्तै मोर्चाहरूकै नेतृत्वमा विगतमा लोकतन्त्र, गणतन्त्र र संघीयतासम्मका उपलब्धिहरू हासिल भएका थिए, र अहिले फेरि तिनै उपलब्धि जोगाउने चुनौती आइपरेकाले नयाँ मोर्चा खडा गरिएको हो। भविष्यमा चुनावी गठबन्धनको सम्भावनाबारे सोध्दा उनले नकारेनन् दलहरूबीच विचारविमर्श मिलेमा एकताबद्ध हुन सकिने संकेत दिए।
केन्द्रीय ठूला दल 'कांग्रेस, एमाले र नेकपा' को हालको भूमिकाप्रति पनि राउत निर्मम देखिए। यी दलहरू आ आफ्नै आन्तरिक कलह र नेतृत्व जोगाउने दाउपेचमा यसरी अल्झिएका छन् कि प्रभावकारी प्रतिपक्षको भूमिका नै हराएको उनको आरोप छ। "संसदमा प्रतिपक्षले गर्नुपर्ने काम अब हामी सडकबाटै जनदबाब सिर्जना गरेर गर्छौं," उनले प्रस्ट पारे।
प्रदेशसभा खारेजीको हालसालैको चर्चाप्रति भने राउत निश्चिन्त देखिए। प्रधानमन्त्री शाहले सत्तामा आउनुअघि नै संघीयतामाथि आँच नआउने वचन दिएको स्मरण गराउँदै उनले भने, "संविधान रहुन्जेल प्रदेशसभा खारेजीबारे कसैले नसोचे पनि हुन्छ।" साथै थपे "संघीयता खारेज गर्न सक्ने ल्याकत मैले हालसम्म कसैमा देखेको छैन।"
अन्त्यमा आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीबारे बताउँदै राउतले भने, आफ्नो मोर्चाले मतदातासामु सोझै एउटै प्रश्न लिएर जानेछ "विगतको सरकारभन्दा अहिलेको सरकारमा तपाईंले के फरक पाउनुभयो?"
