जनआस्था कार्यालयमा प्रहरी छापा, मानवअधिकार समाजको कडा विरोध
जनआस्था कार्यालयमा प्रहरी छापा, मानवअधिकार समाजको कडा विरोध
काठमाडौं। जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीले मारेको छापाप्रति मानवअधिकार तथा शान्ति समाजले कडा विरोध जनाएको छ। पत्रिकाका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीसँगै भएको यो छापालाई समाजले प्रेस स्वतन्त्रता र संविधानको उल्लंघन भएको बताएको छ।
आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा साउन २७ गते राति प्रहरीले गिरफ्तार गरेको थियो। गिरफ्तारीको भोलिपल्ट अर्थात् साउन २८ गते बिहान प्रहरीले जनआस्था पत्रिकाको कार्यालयमा छापा मारी कम्प्युटरसहित विभिन्न सामग्री नियन्त्रणमा लिएको थियो।
समाजकी सभापति रेनुका पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै यी दुवै घटनाप्रति ध्यानाकर्षण गराएकी छन्। विज्ञप्तिमा भनिएको छ, प्रेसबाट कुनै त्रुटि भएको भए त्यसको निरूपणका लागि नियामक निकायमार्फत कानुनी प्रक्रिया अपनाउने विधि छँदाछँदै पत्रकारको गिरफ्तारी आपत्तिजनक छ।
समाजका अनुसार गिरफ्तारीपछि पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेर सामग्री नियन्त्रणमा लिनु निन्दनीय र दुराशयपूर्ण देखिन्छ, जुन प्रेस स्वतन्त्रता, मौलिक हक र नेपालको संविधानको प्रत्यक्ष उल्लंघन हो। यसै आधारमा समाजले पत्रकार श्रेष्ठको शीघ्र रिहाइ र प्रेसमाथिको "आक्रमण" तत्काल बन्द गर्न सरकारसँग आग्रह गरेको छ।
यो प्रकरणमा शान्ति समाजमात्र होइन, प्रेस काउन्सिल नेपालले पनि गम्भीर ध्यानाकर्षण गराइसकेको छ। काउन्सिलले पत्रकार श्रेष्ठको पक्राउ र जनआस्थाको कार्यालयमा हतियारसहित प्रहरी पुगेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ।
नेपालको संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता उल्लेख भएको सन्दर्भ उद्धृत गर्दै मानवअधिकारवादी संस्थाहरूले पत्रकारिता क्षेत्रमाथि हुने यस्ता कारबाहीलाई सूक्ष्म रूपमा नियाल्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।
