Sep 19 2026 | २०८३, असोज ३ गते

चेम्बर र वृहतप्रेनर्सले सुरु गरे 'उद्यमी संलग्नता कार्यक्रम'

चेम्बर र वृहतप्रेनर्सले सुरु गरे 'उद्यमी संलग्नता कार्यक्रम'

स्टार्टअपलाई दिगो बनाउँदै विस्तारसम्म पुर्‍याउने लक्ष्य, पाँच सहरका ३०० भन्दा बढी उद्यमीलाई जोड्ने योजना

शनिबार, असोज ३ २०८३
शनिबार, असोज ३ २०८३
  • चेम्बर र वृहतप्रेनर्सले सुरु गरे 'उद्यमी संलग्नता कार्यक्रम'

    काठमाडौं, असोज २ । नयाँ व्यवसाय सुरु गर्ने तर त्यसलाई दिगो रूपमा सञ्चालन र विस्तार गर्न नसक्ने नेपाली उद्यमीका लागि नेपाल चेम्बर अफ कमर्स र वृहतप्रेनर्सले सहकार्य थालेका छन् । स्टार्टअपलाई व्यावसायिक संरचना, विशेषज्ञ परामर्श, लगानी तथा बजारसँग जोड्दै विस्तारको चरणसम्म पुर्‍याउने उद्देश्यले दुई संस्थाबीच 'उद्यमी संलग्नता कार्यक्रम' सुरु गरिएको हो ।

    भृकुटीमण्डपमा जारी 'नवौँ नेपाल ल्याण्ड एन्ड हाउजिङ तथा कन्स्ट्रक्सन एक्स्पो–२०२६' को अवसरमा आयोजित कार्यक्रममा दुई संस्थाबीच औपचारिक सहकार्य घोषणा गरिएको हो । 'नेपालमा व्यवसाय निर्माण : सुरुवातदेखि विस्तारसम्म' भन्ने अवधारणासहित सुरु गरिएको कार्यक्रमले नयाँ व्यवसाय स्थापना गर्ने मात्र नभई सञ्चालनमा रहेका व्यवसायलाई थप व्यवस्थित र विस्तारयोग्य बनाउन पनि सहयोग गर्ने आयोजकले जनाएका छन् ।

    कार्यक्रममा सहभागी वक्ताहरूले नेपालमा व्यावसायिक विचार र सम्भावना भए पनि त्यसलाई व्यावहारिक व्यवसायमा रूपान्तरण गर्ने संरचना, मार्गदर्शन र बजार पहुँचको कमी चुनौतीका रूपमा रहेको बताए । नयाँ उद्यमीले व्यवसाय सुरु गरेपछि कानुनी, वित्तीय, व्यवस्थापकीय र बजारसम्बन्धी विषयमा समयमै सही परामर्श नपाउँदा जोखिम बढ्ने भएकाले संस्थागत सहयोग आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

    वृहतप्रेनर्सले आफूलाई परम्परागत इन्क्युबेटरको सीमामा नराखी 'अर्बान लाइफस्टाइल भेन्चर स्टुडियो'का रूपमा अघि बढाउने जनाएको छ । स्पष्टता, संरचना र सही दिशालाई मुख्य आधार बनाएर उद्यमीलाई व्यवसाय सुरु गर्नेदेखि विस्तार गर्ने चरणसम्म सहयोग पुर्‍याउने उसको अवधारणा छ ।

    कार्यक्रमअन्तर्गत उद्यमीलाई पाँच प्रमुख क्षेत्रमा सहयोग गर्ने योजना अघि सारिएको छ । 'एक्जिक्युसन हब'मार्फत व्यावसायिक विचारलाई कार्यान्वयनमा लैजान सहयोग गरिनेछ भने 'एक्स्पर्ट्स क्लिनिक'मार्फत कानुन, वित्त, लगानी र बजार व्यवस्थापनका क्षेत्रमा विशेषज्ञ परामर्श उपलब्ध गराइनेछ । उद्यमीलाई परियोजना, सम्भावित साझेदार तथा बजारका अवसरसँग जोड्न 'अपर्चुनिटी एक्सेस सिस्टम' विकास गरिनेछ । कानुनी फर्म, चार्टर्ड एकाउन्टेन्ट, ब्रान्डिङ एजेन्सी तथा लगानी विश्लेषकलगायत सेवा प्रदायकलाई एउटै इकोसिस्टममा जोडेर उद्यमीलाई आवश्यक सेवा सहज रूपमा उपलब्ध गराउने पनि कार्यक्रमको उद्देश्य हो । त्यसैगरी स्थानीय बजारमा सीमित व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक व्यावसायिक संरचना निर्माणमा पनि सहयोग गरिनेछ ।

    नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ प्रधानले उद्यमशीलतालाई आर्थिक स्वतन्त्रतासँग जोडेर हेर्नुपर्ने बताइन् । उनका अनुसार उद्यमशीलताले आम्दानीको अवसर सिर्जना गर्नुका साथै व्यक्तिलाई आफ्ना योजना र लक्ष्यअनुसार काम गर्ने आधार प्रदान गर्छ । नेपाली युवा तथा महिलालाई उद्यमशीलतामा जोड्न आवश्यक रहेको बताउँदै उनले धेरै नयाँ उद्यमी सिर्जना हुँदा रोजगारी र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने धारणा राखिन् ।

    वृहतप्रेनर्सकी निर्देशक पूर्णिमा राजभण्डारीले व्यवसायमा सही समयमा प्राप्त हुने मार्गदर्शनले सम्भावित आर्थिक जोखिम कम गर्न सक्ने बताइन् । उनका अनुसार उद्यमीले कम जोखिममा व्यवसाय अघि बढाउन सके लगानीकर्ता तथा साझेदारले समेत प्रतिफल प्राप्त गर्ने र त्यसबाट दीर्घकालीन रूपमा अर्थतन्त्रमा मूल्य सिर्जना हुन सक्छ । नेपाल चेम्बर अफ कमर्सको देशव्यापी व्यावसायिक सञ्जाल र वृहतप्रेनर्सको प्राविधिक तथा परामर्श क्षमताबीचको सहकार्यले उद्यमीलाई व्यावसायिक अवसरसँग जोड्न सक्ने उनको भनाइ छ ।

    एक्स्पो आयोजक समितिका संयोजक रोशन भोयद्योले घरजग्गा तथा निर्माण क्षेत्रमा समेत नयाँ उद्यमीको सम्भावना रहेको बताए । उनका अनुसार निर्माण, आवास र घरजग्गासँग सम्बन्धित क्षेत्रमा प्रविधि र नयाँ व्यावसायिक अवधारणाका लागि पर्याप्त अवसर रहेकाले युवालाई त्यसतर्फ आकर्षित गर्न आवश्यक छ ।

    वृहतप्रेनर्सका कार्यक्रम व्यवस्थापक सुदर्शन शिवाकोटीले कार्यक्रमको कार्यान्वयनका लागि विभिन्न चरणका योजना अघि सारिएको जानकारी दिए । उनका अनुसार व्यवसायको वर्तमान अवस्था पहिचान गरी सुधारका क्षेत्र पहिल्याउन 'बिजनेस हेल्थ चेकअप' सञ्चालन गरिनेछ । त्यस्तै व्यवसायको क्षमता र वृद्धि योजनामा केन्द्रित दुईदिने 'बिजनेस ग्रोथ इन्क्युबेसन' कार्यक्रम पनि सञ्चालन हुनेछ । उद्यमीको अवस्थाअनुसार 'आइडिया फेज', 'ग्रोथ सिकर्स' र 'स्केल उद्यमी' गरी तीन तहमा सदस्यता योजना बनाइएको छ, जसमार्फत व्यवसायको चरणअनुसार आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

    कार्यक्रमलाई काठमाडौंमा मात्र सीमित नराखी देशका पाँच प्रमुख सहरमा विस्तार गर्ने तयारी गरिएको छ । ती सहरमा कम्तीमा ३०० भन्दा बढी उद्यमीलाई प्रत्यक्ष रूपमा जोड्ने र एक हजारभन्दा बढी रोजगारी सिर्जनामा योगदान पुर्‍याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

    नवौँ सिजी प्रपर्टी जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनीका सल्लाहकार उत्तम झाका अनुसार नेपालमा नयाँ व्यवसायको संख्या बढाउनु मात्र पर्याप्त छैन, सुरु भएका व्यवसायलाई टिकाउ, व्यवस्थित र विस्तारयोग्य बनाउनु पनि चुनौती हो, र यही चुनौती यस सहकार्यको मुख्य आधार हो । व्यवसाय सुरु गर्न चाहने युवालाई विचारदेखि कार्यान्वयनसम्म र सञ्चालनमा रहेका उद्यमीलाई वृद्धि तथा विस्तारसम्म आवश्यक सेवा, परामर्श र अवसरसँग जोड्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको उनले बताए । एक्स्पोसँगै सुरु भएको यो कार्यक्रमले विशेषगरी आवास, निर्माण र घरजग्गासँग सम्बन्धित नयाँ व्यावसायिक अवधारणालाई समेत अवसरसँग जोड्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट